बेलबारी : सुगम जिल्लाकै जनप्रतिनिधि खानेपानी लिनका लागि लाइनमा बस्ने गरेका छन् ।

प्रदेशको राजधानी भएकै जिल्लामा खानेपानी लिनका धारामा जनप्रतिनिधि नै लाइनमा बस्नुपर्छ । पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ का जनप्रतिनिधिलगायत स्थानीय पानी लिन धारामा लाइन लाग्ने गरेका छन् । “खानेपानी लिन धारामा बिहानैदेखि लाइनमा बस्नुपर्छ”, मिक्लाजुङ २ की रत्नकुमारी थापाले भनिन्, “एक गाग्री पानी भर्न १० देखि १५ मिनेट लाग्छ ।” पानी थाप्नकै लागि राती नै उठेर घरको अरु काम सक्नुपर्ने उनले बताइन् ।

बिहानै देखि २ र ३ नम्बर वडाबासी पानी आउने धारामा लाइन लाग्ने गर्छन् । पानी लिनकै लागि एक जनालाई काम जिम्मा दिनुपर्ने बाध्यता रहेको स्थानीय महिला बताउँछन् । धारा हेरेरै चित्त बुझाउँदै बस्दै आएको उनीहरुको भनाइ छ । “बिहानैदेखि लाइनमा बसेर पानी थाप्नुपर्छ”, वडासदस्य कमलकुमारी राईले भनिन्, “वडाका धेरैतिर धारा छन् तर पानी छैन ।” आफुले चुनावको समयमा खानेपानी घरघरमा ल्याउने एजेन्डा बनाएपनि अहिले धारामा आफैँ लाइनमा लाग्दा दुःख लाग्ने गरेको उनले बताइन् । -कोशीपत्र दैनिकबाट