इटहरी :शुक्रबार साँझ इटहरी गोरखा डिपार्टमेन्ट स्टोरको हल खचाखच भरियो । कुनै विशेष सभा समारोह नभएर इटहरीका कवि बद्री भिखारीको एकल कविता वाचन कार्यक्रम रहेको थियो ।
नेपाल निजामति कर्मचारी संगठन सुनसरीले आयोजना गरेको कार्यक्रममा सःशुल्क कविता सुन्न भीड जम्मा भएको थियो । एकल वाचनमा कवि भिखारीले अनुत्तरित प्रश्न शीर्षकबाट कविता सुनाउन सुरु गरे । उनको कविता वाचन तिमीले राम्रो भनेपछि शीर्षकको कवितामा टुङ्गियो । उनले एकल कविता वाचनमा १६ वटा कविता सुनाए ।
उनले अनुत्तरित प्रश्न, दुःख सम्झेर, छ्या काठमाडौँ, मेरो ठेगानामा चिट्टी नलेखे हुन्छ, बद्री प्रसाद, कृपया बिस्तारै, साँच्चि तपाईँको छोरो भेट्नुभो ?, ऐना, नागरिकता, सिराहा, अस्तित्व, जस्तो–जस्तो, आवाज, भुसुनाहरु हिमाल चढ्न थाले, उहिलेउहिले हामी नि प्रेम गथ्र्यौ र तिमीले राम्रो भनेपछि गरी १६ वटा कविता वाचन गरे । कार्यक्रममा वाचन गरिएको पहिलो कविता अनुत्तरित प्रश्न २०३९ सालमा लेखिएको कविता रहेको बताउँदै भिखारीले आँफूलाई सोही कविताले कविका रुपमा परिचित गराएको बताए । आफू निजामति सेवामा कार्यरत रहँदा लेखिएको मेरो ठेगानामा चिट्टी नलेखे हुन्छ शीर्षकको कविताले भिखारीको जागिरमा उतारचढाव ल्याएको बताउँदै आफ्नो जागिरको स्थानबाट सरुवा भएको उनले सुनाए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले कवि भिखारी जागिरमा रहँदा लगनशील भएर काम गर्ने भएकाले साहित्य क्षेत्रमा पनि क्रियाशिल रहेको बताए । कवि भिखारीको परिचय गराउँदै कवि मनु मञ्जिलले अहिलेको परिवेशको कवि र कविताको कुरामा भिखारी समाबेश हुनुपर्ने बताए । कार्यक्रमको ३ सय वटा टिकट बिक्री भएको थियो । आयोजक संघका केन्द्रीय सदस्य प्रकाश राईको परिकल्पनामा भएको कार्यक्रममा इटहरी, धरान, विराटनगर, टाँडी, बेलबारी लगायतका ठाउँबाट प्रतिष्ठित साहित्यकारहरुको उपस्थितिमा भएको कार्यक्रम निजामति संघ सुनसरीका अध्यक्ष भवानी प्रसाद धमलाको सभाध्यक्षमा सम्पन्न भएको थियो ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































