गत माघ १३, २०७५ को मितिमा धरानबाट प्रकाशित हुने अनलाइन पोर्टल ‘कपुरी न्युज’मा ‘धरान घोषणा जारी गर्दै कुलुङ राईहरुको महाधिवेशन सकियो, राई जातिभित्रकै एक थरी भाषी भएको स्वीकार ’शीर्षकमा कुलुङ राई संघ ! को दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सम्बन्धमा समाचार छापिएको रहेछ । जे होस्, समाचारमा जनाइए अनुसार उक्त महाधिवेशनले ११ बुँदे घोषणापत्र पनि जारी गरेछ । त्यस्तै १३ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध रुपमा चयन गरिए छ । जुन समाचार सुन्दा/पढ्दा राम्रो हो भन्न सकिन्छ । साथै यो यो समाचार अरु कुलुङ विरोधी वा राई यायोक्खा नामक एनजिओका नजिकका व्यक्तिहरुले चलाएको अनलाईन पोर्टलमा आजका मितिसम्म पनि छापिएको छैन । जे सुकै होस्, अन्तिममा मकरध्वज राईले नबुझे पनि ...धेरै भन्दा धेरै राई भनिन चाहने राईहरुले राई जात वा जाति नभएर पदवी वा पगरी मात्रै हो भन्नेमा सहमत हुनै पर्ने दिन एक दिन अवश्य आउँछ भन्ने थाहा पाएका छन् । किनभने, साँच्चै वैज्ञानिक अध्ययन गर्दा न राईको छुट्टै मातृभाषा भेटिन्छ, न ऐतिहासिक भूमि भेटिन्छ, न प्रमाणित र भर पर्दो इतिहास भेटिन्छ, न राईको आफ्नै मौलिक भेषभुषा भेटिन्छ, न राई आफ्नै मौलिक संस्कार र संस्कृति भेटिन्छ । अझ राई वंश भेटिने त कुरै भएन ।

अहिलेसम्म राई भनिनेहरुले राईको भन्दै बान्तावा जातिको भेषभुषा र संस्कार, संस्कृति अपनाएको देखिन्छ । खासगरी काठमाण्डौको टुँडीखेल लगायत अन्य सहर बजारका सार्वजनिक ठाउँमाहरुमा उफ्रीपाफ्री गर्दा कसैकसैले चाम्लिङ जातिको भेषभुषा र संस्कार, संस्कृति अपनाएको देखिन्छ । त्यसैले कथित् राई जातिको नाममा पैसामा उठाएर खर्च गर्नेहरुले राई जात वा जाति नभएर पदवी वा पगरी मात्रै हो भन्ने थाहा नै छैन । खासगरी राई यायोक्खाका हर्ताकर्ताहरुको रमाउने दिन अब साह्रै धेरै छैन !
यायोक्खाले जत्ति नै खर्च गरेर कुलुङ समुदायका अगुवाहरुलाई सिध्याउने सपना देखे तापनि भोली जिल्ला/जिल्ला, क्षेत्र/क्षेत्र, गाउँ/गाउँ,  वडा/वडा, टोल/टोलमा गएर आफ्नो  संगठन बनाउन सक्ने होइन । प्रचारप्रसार गर्न सक्ने होइन । त्यसैले कथित् राई जाति र राई संघवालाहरुले आगामी जनगणना (विसं २०७८) मा राई लेख्ने अभियान पनि पानीको फोका मात्रै हुन्छ । बरु विसं २०६८ मा थोरै देखिएका आठपहरिया, बाहिङ, खालिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, थुलुङ, नाछिरिङ, याम्फु लगायत किरातीहरुको जनसंख्या बढ्ने पक्का छ । कुलुङ जातिको त त्यसै पनि बढ्ने नै छ । किनभने, २०६८ को जनगणनामा नै कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३३ र कुलुङ मातृभाषा बोल्नेहरुको वक्तासंख्या ३३ हजार १ सय ७० जना रहेको छ । हो, यही कारणले पनि माथि नै भनेभैंm साँच्चै वैज्ञानिक अध्ययन राईको फेद न टुप्पो हुने स्थिति छ ।

यहाँ सुरुमा किरातीहरुमा नामको पछाडि राई लेख्न कसरी सुरु भयो ? भन्ने बारेमा केही चर्चा गरिने छ । खासगरी भूमिसुधार ऐन र नागरिकता ऐन आएपछि हामी कुलुङहरुले मात्रै नभएर प्रायः सबै किरातीहरुले असली वा भनौं तालुकदार ‘राई !’ भन्दा ठूलो हुन नामको पछाडि राई लेख्न तँछाडमछाड गरेर लाग्यौं । यसरी जानी-नजानी हामी आफ्नै राईकरणको मारमा पर्याैं । अथवा भनौं त्यो बेला असली राईहरु, जसलाई त्यो बेला जिम्मावाल/तालुकदार भनेर पनि चिनिन्थ्यिो उनीहरुभन्दा पनि ३ बित्ता अगाडि उफ्रेर नामको पछाडि “राई !” लेख्न हामफालेर लाग्यौं ! अनि अहिले आएर जातीय स्वपहिचानको संकटमा आफ्नै फस्यौं ।

नत्र भने कुनै पनि एक जाति राई ! को २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ वटा मातृभाषा हुन्छ ? कोही पनि राई त्यस्तो छ, जसले २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ वटा भाषामा खररर ... बोल्न सकोस् ? ( किराती भाषाका सम्बन्धमा एक मत नभएर भाषाविद् वा भनौं विषय विज्ञपिच्छे फरकफरक तथ्यांक हुने भएकोले माथिको संख्या उल्लेख गरिएको अझ केही भाषा विज्ञले त ३३ वटासम्म किरातीहरुको भाषा रहेको मान्छन्, (हाल राई भनी चिनिने) ।
जे भए तापनि विसं २०२१ सालको भूमिसुधार ऐन आएपछि र, खासगरी यो ऐन विसं २०२८/२०२९ देखि विसं २०३४/२०३५ ताका जोडतोडका साथ गाउँ–गाउँमा लागू भयो भने, विसं २०५१ मा पूर्ण रुपमा लागू भयो । र, यसरी भूमिसुधार लागू हुने अन्तिम जिल्लाहरुमा संखुवासभा लगायतका केही जिल्लाहरु थियो । स्मरण रहोस्, भूमिसुधार ऐन लागू हुनु अघिसम्म तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ ‘देवान’ आदिको मातहतमा रहेको जग्गा-जमीन अब रैती/ढाक्रेहरुको नाममा नामसारी हुन थाल्यो । यसरी जग्गा–जमीन रैती/ढाक्रेहरुको नाममा नामसारी गर्दा उनीहरुको नामको पछाडि के लेख्ने ? भनी ठूलो गलफत्ती भयो ।
यसै सन्दर्भमा यहाँ भोजपुरका डाक्टर शिवकुमार राई(जो विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनपछि बनेको माओवादीको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य पनि भएका थिए) उनको भनाई राख्न उचित ठान्छु । शिवकुमार राईका अनुसार उनका बुबाले आफ्ना  रैती/ढाक्रेहरुलाई कुनै हालतमा राई ! लेख्न दिन्न !! भनी अड्डी कसेका थिए रे । ६/७ दिनसम्म त पञ्च–भलाद्मीहरुको बैठक/भेला नै बस्यो । अन्तमा केही सीप नलागेपछि ती ठूला राईले आफ्ना रैतीहरुलाई पनि राई लेख्न दिन सहमत भए !!! विचरा ठूलो राई भनेर के गर्नु ? आफु जत्ति ठूलो राई ! भए पनि भूमिसुधार ऐन आएसँगै आफ्नो हुँदाखाँदाको राई ! पदवी/पगरी खुस्केको पत्तै भएन !!!

kulung

यस्तै, संखुवासभा जिल्लाको पाङ्मा गाउँका भवानी लोहोरुङका बुबा गंगाप्रसाद राई ५२ पगरीको राई (ठूलो राई !) पनि थिए भने संखुवासभाकै धुपु गाउँका डम्बर लोहोरुङका बुबा जुद्घबहादुर राई अमाली राई (कानुन हेर्ने राई !) पनि थिए । त्यस्तै हाल नेपाली साहित्य तथा गीत–संगीतमा नाम चलेका मुकारुङ खलकका बाबु–बाजे परशुराम राई पनि ५२ पगरीको ठूलो राई ! थिए । तर, दुःखको कुरा भोजपुर जिल्लाको नागी÷अन्नपूर्ण क्षेत्रका यी मुकारुङ खलकका कुनै पनि सन्तानले खुलेर यो कुरो भन्दैनन्/ताउँदैनन् ।
जबकि, त्यो बेला ( केटाकेटी छँदा) कहिले परशुराम राई ! को घरमा आफ्नो हजुर बा सत्यनारायणको पूजा लाउन जानु हुन्छ र, फर्केर आउँदा ठूलो-ठूलो र नरम सेल रोटी, केरा/कोला, दही, घिऊ, चिउरा, फलफुल लगायतका कोसेली पात २/४ जना भरियाले बोकेर ल्याउँछ अनि खान पाइएला ? भनी पर्खन्थ्यौं/कल्पना गथ्र्यौं भनी बताउने नेपाल बाहुनहरु मैले नै काठमाण्डौमा भेटेको छु ।
अरु जिल्लामा पनि यस्ता राईहरु थिए । खासगरी नेपालको भौगोलिक एकीकरणपछि वल्लो किरातका सुनुवारहरुले ‘मुखिया’, माझ किरातका कुलुङ लगायत अन्य किरातीहरुले ‘राई’ र पल्लो किरातका लिम्बु र लाप्चाले ‘सुब्बा’ पदवी÷पगरी पाएका थिए । विसं २०३३/२०३४ पछि त अरु जात वा जातिले पनि ‘मुखिया’, ‘राई’, ‘सुब्बा’ पदवी/पगरी पाउन थालेको देखिन्छ । मैले राई के हो ? भन्नेबारे अरु बढी प्रष्ट होस् भनेर माथि केही बढी बखान गरेँ ।

के कुलुङबाट राई बन्नेहरुले राईको मातृभाषा, ऐतिहासिक भूमि, संस्कार, संस्कृति, रहनसहन, भेषभुषा, चाडपर्व, पाछा, सामेइ आदि के हो ? भन्न वा भनौं नयाँ बनाउँन सक्छन् ? राई यायोक्खा के को लागि दर्ता भएको हो ? पैसा उठाउनलाई मात्रै राई बनेका हुन् ? त्यसको लागि बनेका हुन् भने उनीहरुले आफ्नो नाम वा संस्थाको नामको अगाडि कुलुङ लेख्न पाउँदैनन् । यसका लागि अब कुलुङ समुदायका पूर्खा, अगुवा, विद्घत वर्ग, युवा, विद्यार्थी, महिला, लगायत सचेत कुलुङ जनसमुदायले डटेर लाग्नु पर्छ ।
हुन त अहिले राई हुने भुपध्वजले यो पंक्तिारलाई कुलुङ समुदाय राई होइन, राई भनेको पदवी वा पगरी मात्रै हो भनेर सम्झाउने र बुझाउने गर्थे । पछि गएर उनै भुपध्वजले राई भए । यसरी भुपध्वज राई हुने बित्तिकै राई यायोक्खाका हर्ताकर्ताहरुले मदनेश्वरी/मदनश्वरी राईको नाममा सम्मान गरेर १० हजार नगद रुपैँया पनि दिए । तर, अहिले ती भुपध्वज राईको हालत के–कस्तो छ ? ! स्वयम् राई यायोक्खाका हर्ताकर्ताहरुलाई पनि थाहा छैन होला !

भुपध्वज राई कुलुङ जनसमुदायमा खासगरी कुलुङु समुदायको बाक्लो वस्ती भएको ठाउँमा जाँदा त्यहाँका कुलुङ युवाहरुले मन पराएनन्, लखेट्न थाले । उनले आफ्नै गृह जिल्ला सोलुखुम्बु, संखुवासभा, मोरङ, तेह्रथुम, धनकुटा, सुनसरी, (काठमाण्डौमै पनि) आदि जिल्लामा घुम्ने/डुल्ने क्रममा बहिस्कृत भए । ती घटनाबारे कुलुङहरुलाई स्वयम् भुपध्वजले बताइ दिए राम्रो हुन्थ्यो कि !
त्यसैले अभै पनि ठण्डा दिमागले सोच्दा हुन्छ । अबेला भएको छैन । समाचारको जो फोटोमा देखाइएको छ र, तस्बीरले नै धेरै कुरो बोलेको पनि छ । (हालसम्म प्रायः धेरै कुलुङ महानुभावहरुले उल्टै आफ्नै खल्तीबाट पैसा हालेर र, निःशुल्क खटेर कुलुङ संघ र कुलुङ समुदायको गतिविधि चलाइरहेका छन्) ।

राई यायोक्खा नामक एजिओका हर्ताकर्ताहरुले पनि के गर्न खोजेका हुन् ? थाहा छैन । पक्कै पनि ‘न बजे बाँसुरी नरहे बाँस !’ गर्न त खोजेका होलान् नि ? त्यही भएर कुलुङेहरुको सेखी झार्न लागि परेका छन् । तर, ‘झिँगाको सरापले डिँगा मर्दैन !’ भन्ने कुरो बिर्से जस्तो छ । किनभने, विसं २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकमा पनि कुलुङ लगायत १२ वटा किराती जातिहरुलाई अलग्गै जातिको रुपमा आउन नदिन राई यायोक्खा कसेरै लागेको होइन र ?

जे होस्, चेतना पछाडि फर्केन भने, विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कथित् राई ! जातिवालाहरुको हालत के हुन्छ ? देखिने छ । किनभने, विसं २०६८ को जनगणनामै कम्तिमा ७ लाख ७० हजार चानचुन हुन हुनुपर्ने कथित् राई जातिको जनसंख्या २०५८ को भन्दा १५ हजार चानचुन घटेको छ । त्यसैले राई यायोक्खाको बजेटमा रमाउन राई बनेकाहरुलाई राई बन्न दिऊँ । तर, हामी कुलुङहरुले मात्रै नभएर बाहिङ, मेहावाङ लगायतले पनि आ–आफ्नो जातीय स्वपहिचानले स्थापित हुनका लागि चिया र बिस्कुटसम्म खान नपाए पनि निरन्तर लागि रहौं, निरन्तर लागि रहौं ।

चिन्ता नगरौं कुलुङ लगायत किराती बन्धुहरु, किनकि अन्ततः जीत हाम्रै हुने छ । किनभने, पैसाका लागि राई बन्ने १/२ जना कुलुङको नाममा कपूतहरु हुन् । त्यो बेलाका महान दार्शनिक सुकरातले सत्यको पक्षमा वकालत गर्दा ‘हेमलक’ नामक विष पिएर मर्नु वाध्य भएको थाहा नपाए तापनि पैसा खुवाएर/दिएर कुलुङ समुदायमा ‘ब्लन्डर’ गर्न सकिन्छ कि ? भन्ने ‘यायोक्खा !’का हर्ताकर्ताहरुलाई भने अवश्य नै दार्शनिक सुकरातको विषयमा थाहा छ । त्यस्तै हो, कुलुङले सुरु गरेको जातीय स्वपहिचानको आन्दोनल पनि । जसरी सुकरातले विष पिएर मर्नुपरे पनि उनले भनेको (पृथ्वी गोलो छ भन्ने) कुरो पछि आएर सही सावित भयो, त्यस्तै कुलुङ समुदायले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलन पनि स्थापित भएरै छाड्छ । सबैलाई चेतना भया !!!


(यो लेख लेखकको निजी विचार हो)