धरान : बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको २१ औं सँस्करणको प्रचारप्रसार गर्न धरानमा जारी बुढासुब्बा रेडबुल प्रमोशन कपको आज बिहान फाइलन खेल हुदैछ ।
धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहान ९ बजे फाइनल खेलको तयारी भइरहेको छ । फाइनलमा नेपाल पत्रकार महासंघ सुनसरीको टिम र धरान उपमहानगरपालिकाको टिमबीच उपाधि भिडन्त हुदैछ । दुवै टिम उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रनेछन् । बुधबार पहिलो सेमीफाइनल खेलमा पत्रकार महासंघको टिमले एसिसि धरानलाई ६–० गोलअन्तरले हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने दोस्रो सेमीफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई १–० को झिनो गोलअन्तरले हराउदै उपाधि नजिक पुगेको थियो ।

फाइनलको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ भने उपाविजेताले नगद १५ हजार र ट्रफी पाउने छ । यही माघ २६ गतेदेखि फागुन ४ गतेसम्म आयोजना हुने बुढासुब्बा रेडबुल गोल्डकपको प्रर्वद्धन गर्न प्रतियोगिता आयोजना भएको हो । धरान फुटबल क्लबले केही बर्षयता गोल्डकपको प्रर्वद्धन गर्न बर्षेनी प्रमोशन कप आयोजना गर्दै आएको छ । विभिन्न संघसंस्थाहरु सहभागी रहने प्रमोशन कपमा यसपाली ८ टिमले सहभागी भएको थियो । बुढासुब्बा गोल्डकपको २१ औं सँस्करण यही माघ २६ गतेदेखि धरान १६ स्थित प्रस्ताविक प्रादेशिक रंगशालामा हुनेछ ।








































































