तेह्रथुम: तेह्रथुमको म्याङलुङमा भएको भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि माइभ्याली फुटबल क्लब इलामले चुमेको छ ।

प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा उदयपुर–११ लाई २–१ गोलले पराजित गर्दै इलामले उपाधि चुमेको हो । खेलको पहिलो हाफमा इलामका लागि जर्सी नं. १३ का अनिष थापाले दुई गोल गरे । दोश्रो हाफमा जर्सी नं. १४ का टिपसन राईले उदयपुरकालागि सान्त्वाना गोल गरेका थिए ।

उपाधिसँगै इलामले नगद २ लाख ५ हजारसहित कप, मेडल र प्रमाण–पत्र हात पारेको छ भने उपविजेता बनेको उदयपुर–११ ले नगद १ लाख १५ हजार रुपैयाँमा चित्त बुझाएको छ । विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्दै प्रदेश नंं. १ का प्रमुख डा. गोविन्द तुम्बाहाङले पहिलो पटक सन्चालित सो प्रतियोगिताले जिल्लाको फुटबल विकासमा सहयोग पु¥याउने बताए ।

प्रतियोगितामा उदयपुर रोशेष श्रेष्ठ उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्स इलामका हरि सिटौला, उत्कृष्ट गोलकिपर उदयपुरका रेम्बो चौधरी र उत्कृष्ट गोलकर्ता उदयपुरका समिराज राउत र झापाका गणेश हेमरन घोषित भए । उनीहरुलाई नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रदेश नं. १ का तेह्रथुमसहित धनकुटा, संखुवासभा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ र उदयपुरका १० टिमले सहभागिता जनाएको थियो । प्रतियोगिता लिम्बुहरुको महान् चाड चासोक तङनामको अवसरमा पौष २ गतेबाट सन्चालन भएको थियो ।