झापा : झापामा ५० हजारभन्दा बढी मतदाता वृद्धि हुँदा ४९ वटा मतदान केन्द्र थप गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता तथा केन्द्र सङ्ख्या विवरण अनुसार २०७९ सालको निर्वाचनको तुलनामा झापामा पुरुष २७ हजार ३०२ र महिला २२ हजार ९२४ गरी ५० हजार २२६ जना मतदाता बढेका छन् ।

२०७९ को निर्वाचनमा झापामा कुल मतदाताको सङ्ख्या ६ लाख ६३ हजार ३११ रहेको थियो । यो निर्वाचनमा बढेर ७ लाख १३ हजार ५३७ पुगेको हो ।

त्यस्तै गत निर्वाचनमा ७६६ वटा मतदान केन्द्र रहेकोमा यस पटक ४९ वटा बढेर ८१५ वटा पुगेको छ । मतदान स्थल भने बढाइएको छैन । झापामा २८५ वटा मतदान स्थल रहेका छन् ।

झापाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं. ५ र सबैभन्दा कम क्षेत्र नं ४ मा रहेका छन् । क्षेत्र नं. ५ मा ८१ हजार ८१ पुरुष र ८२ हजार २९६ महिला गरी जम्मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन् । त्यसपछि क्षेत्र नं २ मा ७३ हजार ९५० पुरुष र ७३ हजार ५६७ महिला गरी १ लाख ४७ हजार ५२२ जना मतदाता छन् ।

त्यस्तै क्षेत्र नं ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिला गरी १ लाख ४० हजार ८५७ जना मतदाता छन् । त्यस्तै क्षेत्र नं १ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिला गरी १ लाख ३१ हजार ६७ जना मतदाता छन् भने सबैभन्दा कम क्षेत्र नं ४ मा ६६ हजार २८३ पुरुष र ६४ हजार ४२८ महिला गरी १ लाख ३० हजार ७१२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका ८१५ मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइने भएको छ ।