झापा: झापाको दमक नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा सवारी दुर्घटना बढेको छ ।
जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार पछिल्लो एक साता सवारी दुर्घटना अत्यधिक भएको हो । पूर्व पश्चिम राजमार्गको दमक सडक खण्डमा एक साताको अवधिमा भएका सवारी दुर्घटनामा एकै परिवारका बाबु छोरासहित ६ जनाले ज्यान गुमाएका छन् । विभिन्न ५ वटा फरक फरक सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हिजो अपरान्ह झापाको कमल गाँउपालिका वडा नं. ५ स्थित पाडाजुंगी सडकखण्डमा भएको दुर्घटनामा परी एक साइलक यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को १० प ७६२७ नम्बरको मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेको साईकलयात्रीलाई ठक्कर दिदाँ स्थानीय ५० वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालकको भने वतन खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
यस अघि भारतीय ट्रकको ठक्करवाट मोरङ पथरी शनिश्चरेका वावु छोराको मृत्यु भएको थियो । भारतीय ट्रकको ठक्करबाट मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ घर भएका ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र गिरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।