तेह्रथुम:तेह्रथुमको फेदाप गाउँपालिका ५ बाट प्रहरीले भरुवा बन्दुकसहित बिहिबार एक जनालाई पक्राउ गरेको छ ।

बन्दुकसहित सोही स्थान बस्ने ४० बर्षीय बुद्धबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बिहान ११ बजेको समयमा श्रीमति ३५ बर्षीय दलमाया तामाङसँग घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी घाईते बनाएको र भरुवा बन्दुकसमेत ताकेको भन्दै स्थानीयले प्रहरी चौकी सम्दुमा खबर गरेपछि उनी पक्राउ परेका हुन् ।

घटनाको जानकारी पाएपछि तत्काल खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि घरमा खानतलासी गर्ने क्रममा लुकाएर राखेको अवस्थामा बारुद भरेको एक नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको थियो । खुकुरी प्रहारबाट घाइते भएकी श्रीमतिको ईसिबु स्वास्थय चौकीमा उपचार भईरहेको छ । बन्दुक सहित पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।