धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकलाई सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्न दिने चलनलाई निरन्तरता दिइने कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले बताएका छन् ।
पहिलो पटक हर्क साम्पाङ नगर प्रमुख निर्वाचित भएपछि कार्यपालिका बैठक सामाजिक सञ्चालनमा प्रशासरण गर्न थालिएको हो । तर अहिले सम्म उपमहानगरपालिका आफैले भने बैठकको अधिकारीक प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था गरेको छैन ।
पूर्व प्रमुख साम्पाङले उपमहानगरपालिकामा अपनाउँदै कतिपय कार्यशैलीमा सुधार गर्ने कुरा बताउँदै आएका कार्यवाहक प्रमुख बेघाले बैठकको प्रत्यक्ष प्रसारणलाई भने निरन्तरता दिने बताएका हुन ।
लिम्बु पत्रकार सङ्घ सुनसरीको प्रतिनिधि मण्डलसँग शुक्रवार कुराकानी गर्दै उनले भने ‘बैठकको लाइभ प्रसारण बैठकको प्रक्रिया, पद्धति, जनप्रतिनिधिको कार्यशैली, व्यवहार र बोली प्रत्यक्ष जनताले देख्ने कुरा हो ।’ उपमहानगरपालिकाको नेतृत्व र जनप्रतिनिधि बैठकमा कति उत्तरदायी, मर्यादित रूपमा प्रस्तुत हुन्छन् जताले प्रत्यक्ष देख्ने र मूल्याङ्कन गर्ने उनले बताए ।
नगर प्रमुख साम्पाङले संसदीय उम्मेदवार बन्न पदबाट राजीनामा दिएपछि उपप्रमुख बेघाले कार्यवाहक प्रमुखको पदभार ग्रहण गरेका छन् । उनी कार्यवाहक प्रमुख बनेपछि कार्यपालिकाको बैठक भने बसेको छैन ।
हिजोको समयमा हुने कार्यपालिका बैठक र उनको कार्यवाहक कार्यकालमा हुने बैठकको भिन्नता धराने जनताले अबको दिनमा प्रत्यक्ष रूपमा सामाजिक सञ्जाल मार्फत देख्ने कार्यवाहक प्रमुख बेघाको भनाई छ ।
लिम्बु पत्रकार सङ्घको टोली उपप्रमुख बेघाले कार्यवाहक नगर प्रमुखको पद बहाली गरेकोमा बधाई तथा शुभकामना ज्ञापन गर्न उनको कार्यक्रममा पुगेको थियो । पत्रकारहरूको टोलीलाई उनले भने ‘हिजो के कस्तो कमी कमजोरी के कारणले भयो त्यता नजाऔँ, अब त्यस्तो कमी कमजोरी र व्यवहार हुने छैन ।’
उनले धरान उपमहानगरपालिका अब सञ्चार मैत्री, पत्रकार मैत्री हुने बताउँदै भने ‘उपमहानगरपालिकाको कुनै पनि राम्रो नराम्रो कुरा खोजेर बाहिर ल्याउन सबै सञ्चारकर्मीलाई खुल्ला छ ।’ कसैसँग दुर्व्यवहार हुने नहुने उनले प्रतिबद्धता जनाए ।
यसअघि पत्रकार महासङ्घसँग भइरहेको सहकार्यलाई पुनः सुचारु गरिने तथा सञ्चारकर्मी सम्बन्ध संस्था,सङ्गठनहरू सबैलाई समेटेर उपमहानगरपालिकाको साधन श्रोतले भ्याए अनुसार सहकार्य गरिने कार्यवाहक प्रमुखले प्रतिबद्धता जनाए ।
सङ्घका अध्यक्ष स्वर्णिमहाङ लिम्बुको नेतृत्वमा गएको प्रतिनिधि मण्डलबाट केन्द्रीय सल्लाहका हर्ष सुब्बा, मोहनकुमार हुक्पाचोङबाङ, संगीता सुब्बाले बधाई ज्ञापन गर्दै स्थानीय सरकार धरान उपमहानगरपालिकाले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूलाई स्वतन्त्र पत्रकारिताका लागि वृत्ति विकासको क्षेत्रमा निश्चित बजेटको ग्यारेन्टी गर्न आग्रह गरे ।