धरान : सुनसरी १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराई मनोजलाई सघाउन ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको उक्त पार्टीले जनाएको छ ।
धरानमा शुकवार भएको कार्यकर्ता भेलाले पार्टी केन्द्रीय सदस्य किरण राईको संयोजकत्वमा समिति गठन गरेको हो । 
समितिमा जीवन राई, मुक्साहाङ मेन्याङवो, टिका कन्दङवा, उमिता बराइली, राम मान्डुपा राईलगायत सदस्य छन् । समितिमा सुनसरी–१ का प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य, नगर कमिटीका पदाधिकारी र सदस्यहरू समितिमा छन् । 
भेलाले २९ वटा उपसमिति पनि गठन गरेको छ । आर्थिक उपसमिति संयोजक उद्धव लिम्बु, प्रचार–प्रसार समिति संयोजक चोत्लुङ, युवा परिचालन समिति संयोजक चिन्तन भुजेल, महिला परिचालन समिति संयोजक उमिता बराइली, अनुगमन समिति संयोजक मुक्साहाङ मेन्याङवो तथा विद्यार्थी तथा नव–युवा परिचालन समिति संयोजक युवराज अलौकिक रहेका छन् ।
नेकपा धरान नगर संयोजक उद्धव लिम्बुका अनुसार निर्वाचन परिचालन समिति घरदैलो अभियान, मतदाता भेटघाट, प्रचार–प्रसार तथा सङ्गठन विस्तारमा केन्द्रित रहनेछ ।