धरान : राष्ट्रिय परिवर्तन पार्टीले फागुन २१ गते हुने निर्वाचनमा सुनसरी १ मा ईन्द्रहाङ किराँतीलाई उम्मेदवार बनाउने भएको छ ।
धरानमा बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा किराँतीले पार्टीले दुई तिहाइ सिट जित्ने दाबी गर्दै त्यसपछि स्थिर सरकार निर्माण गरिने बताए । पार्टी कुल कति स्थानीयमा उम्मेदवार उठाउने भएको छ, त्यो सङ्ख्या भने पार्टीले सार्वजनिक गरेको छैन ।
उनले परिवर्तन पार्टीको सरकार बनेपछि जेनजी आन्दोलनका घाइते र सहिदको सपना साकार पार्ने बताए । उनले भने, ‘दुई तिहाइको जनमत प्राप्त भएपछि मात्र देशमा स्थायित्व सम्भव हुन्छ ।’ स्थायित्व प्राप्त भएपछि प्रत्यक्ष राष्ट्रपति निर्वाचनको एजेन्डामा जोड दिने उनले बताए । 
उनले पार्टीको चुनावी एजेन्डा सुशासन र भ्रष्टाचारको अन्त्य रहेको बताए । सेलिब्रेटी र व्यक्तिवादी राजनीतिबाट टाढा रहेर पार्टी सञ्चालित जनमुखी राजनीति अहिलेको आवश्यक भएको उनको भनाइ थियो  ।
किराँतीले राजनीतिक आन्दोलनमा बलिदान दिनेहरूप्रति विशेष कार्यक्रम ल्याइने बताउँदै जेनजी आन्दोलनका ७६ जना सहिदका परिवारको व्यवस्थापन गरिने, घाइते तथा अपाङ्गता भएकाहरूका लागि सीपमूलक तालिम, रोजगारी र राज्यबाट तलब भत्ता सुनिश्चित गरिने उल्लेख गरे ।