धरान : नेपाली काँग्रेस विभाजित भएपछि धरानका कांग्रेसजन को कता लाग्छन भन्ने सवालमा पार्टीका नगर सभापति श्याम पोखरेलले नेपाली काँग्रेसको झण्डा र चुनाव चिन्हप्रति नै कार्यकर्ताको आस्था र विश्वास रहने बताएका छन् ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सभापति रहेको संस्थापन काँग्रेसले विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनुअघि महामन्त्रीव्दय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासित गरेपछि काँग्रेस विभाजित भएको छ ।
पार्टी विभाजित भएपछि कांग्रेसजन एक अर्का नेताप्रति हिलो छ्याप्ने तहमा उत्रिएको पनि देखिएको बारेमा उनले बिहीबार सञ्चारकर्मीहरुसंगा भने ‘विवादभन्दा माथि उठेर जनताको काममा लाग्नु नै अहिलेको आवश्यकता हो, पार्टी बलियो बनाउने जिम्मेवारी हामी सबैको हो ।’तर कुन पार्टी बलियो बनाउने अन्योल बढेको बेला उनले विवादको कुरालाई पपुलिज्म बनाउने भन्दा पार्टीको झण्डा र चुनाव चिन्ह रुखप्रति अडिग रहनु पर्ने कुराप्रति कार्यकर्ताहरूको ध्यानाकर्षण गराए । सभापति पोखरेलले भने ‘चारतारे झण्डा जहाँ हुन्छ, म त्यहीँ हुन्छु ।’
उनले विभाजनको टुङ्गो लागेपछि झण्डा र चुनाव चिन्हको टुङ्गो लाग्ने बताउँदै विवाद किनारा लागेपछि काँग्रेस कार्यकर्ता जो जहाँ छन् चार तारे झण्डा र चुनाव चिन्ह रुख लिएर जनताको घर–घरमा पुग्नु पर्ने बताए ।पोखरेलले भने ‘त्यसैले अहिले धैर्य र संयमता अपनाउन जरुरी छ ।’काठमाडौँमा भएको विशेष महाधिवेशनमा धरानबाट ८० प्रतिशत प्रतिनिधि सहभागी भएको आयोजकले दाबी गरेको छ । सभापति पोख्रेलले भने ‘त्यति सङ्ख्यामा धरानबाट विशेष महाधिवेशनमा सहभागी भएका छैनन्।’
उनले कसैको मुख हेरेर काँग्रेस नबनेको र पार्टी विभाजनको पक्षमा आफू नरहेकोले यस्ता कुराहरूलाई महत्त्व नदिएको बताए ।
विभाजनले काँग्रेस कमजोर
पोख्रेलका अनुसार पार्टीको विभाजनले तल्लो तहका कार्यकर्तामा गहिरो निराशा फैलिएको छ । काँग्रेस कमजोर हुनु भनेकै मुलुक कमजोर हुनु हो भन्दै उनले यसले राष्ट्रिय राजनीतिमा समेत नकारात्मक असर पार्ने चेतावनी दिए ।
२०५८ सालको काँग्रेस विभाजनको स्मरण गर्दै उनले भने ‘चुनाव चिन्ह र झण्डा जहाँ रहन्छ, कार्यकर्ताको आकर्षण पनि त्यतै हुन्छ, अहिलेको अवस्था पनि उस्तै दिशातर्फ गइरहेको छ ।’
चुनावमा असर पर्ने सङ्केत
काँग्रेस विभाजनकै कारण आगामी निर्वाचन प्रभावित हुन सक्ने पोख्रेलको ठम्याइ छ । पार्टीका मुद्दा विभाजित हुँदा काँग्रेस देशभर कमजोर बन्ने र यही अवस्था कायम रहे काँग्रेस आउँदो पाँच वर्षसम्म दोस्रो वा तेस्रो शक्तिमा सीमित हुन सक्ने उनले बताए ।
युवा नेतृत्व आवश्यक
पोख्रेलले काँग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै युवा पुस्तालाई अघि सार्नुपर्ने बताए। गगन थापा र विश्वप्रकाश शर्माप्रति धरान र सुनसरी क्षेत्र नम्बर–१ मा करिब ५० प्रतिशत कार्यकर्ताको समर्थन रहेको उल्लेख गर्दै उनले भने ‘अहिलेको परिस्थितिमा म कुनै व्यक्तिको पक्षमा रहेको छैन ।’