धरान : समुन्नत नेपाल पार्टीका अध्यक्ष तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा वर्तमान राजनीतिक प्रणाली सुधार, जिम्मेवार नेतृत्व र सुदृढ राजनीतिक चेतको खाँचो औँल्याएका छन्।

बुधवार धरानमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा अध्यक्ष खनालले देशमा न्याय, सुरक्षा र सुशासन गम्भीर सङ्कटमा रहेको बताउँदै प्रणालीगत सुधार अपरिहार्य भइसकेको धारणा राखे।

उनले न्याय प्रणालीप्रति गम्भीर प्रश्न उठाउँदै साना अपराधीलाई कडा सजाय दिइने तर आर्थिक तथा ठुला अपराधमा संलग्न व्यक्तिहरू उन्मुक्ति पाउने प्रवृत्ति व्याप्त रहेको बताए। 'न्याय प्रणालीमै भ्रष्टाचार र असमानता देखिन्छ,' उनले भने।

सुरक्षा र कानुनको शासन कमजोर बन्दै गएको उल्लेख गर्दै खनालले खुला सिमाना र अवैध हतियारका कारण सात हजारभन्दा बढी अपराधी अझै फरार रहेको जानकारी दिए। सबै राजनीतिक दल र नेताहरूले निष्ठापूर्वक राजनीति गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष खनालले आफू जनताको सेवक भएको भन्दै प्राप्त हुने सेवा सुविधा जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाए। 'म जनताको आईजीपी हुँ,' उनले भने, 'राजनीतिमा आउँदा सेवा सुविधा कटौती हुनु हुँदैन।'

वर्तमान राजनीतिक प्रणालीमा संसद् बारम्बार विघटन हुनु र सङ्घ तथा प्रदेश सरकारबीच दोहोरो प्रयास भइरहनुले देशको विकास अवरुद्ध भएको खनालको भनाइ थियो। यही अवस्थाले जेनजी आन्दोलन जन्मिएको दाबी गर्दै उनले आन्दोलनपछि बनेको सरकारको कामप्रति असन्तुष्टि पनि व्यक्त गरे।

उनले वर्तमान नेतृत्वमा अन्तर्राष्ट्रिय दृष्टिकोण, नवप्रवर्तन र आधुनिक सोचको अभाव रहेको बताउँदै त्यसले देशको समुचित विकासमा अवरोध पुर्‍याइरहेको बताए।

प्रहरी सेवाबाट निवृत्त भएपछि नेकपा एमालेबाट दुई पटक चुनाव लडेका खनालले एमालेले देश र जनताको पक्षमा प्रभावकारी काम गर्न नसकेको कारण नयाँ पार्टी स्थापना गरेको स्पष्ट पारे। एमालेकै कारण भ्रष्टाचार व्यापक भएको र जनताले विकास तथा समृद्धि अनुभूति गर्न नपाएको उनले आरोप लगाए।

आफूलाई 'युवा र बेचैन' भएको बताउँदै खनालले बिग्रँदै गएको राजनीतिक प्रणालीविरुद्ध सक्रिय भूमिका निर्वाह गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरे।

उनले नेपालमा नयाँ नेतृत्व र राजनीतिक सुधारको आवश्यकता अत्यन्त स्पष्ट भइसकेको बताउँदै त्यसले सुशासन, न्याय र समग्र विकासको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।