धरान : धरान, इटहरी र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
पुस ४ गते सुनसरीको धरान–१६ मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
सो क्रममा प्रतिबन्धित लागुऔषध ट्रामाडोल ६ हजार ३०० ट्याब्लेट र स्पास्पेन ३ हजार ५१८ क्याप्सुलसहित बिक्री–वितरणमा संलग्न पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धरान-१६ का सबिन राई, सौरव राई र सुजन राई, धरान-११ का अस्बिन लिम्बु तथा धरान-१७ का संजय खड्का रहेका छन्।
त्यस्तै, इटहरी-५ स्थित अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरी टोलीले इटहरी-१६ का धिरेन्द्र कुमार चौधरीलाई ५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
उदयपुरमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले त्रियुगा नगरपालिका-७ का रेमन मग्रातीलाई बेलका नगरपालिका-९ बाट १०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
यसैबीच, उदयपुरकै बेलका नगरपालिका-८ डुम्रिबोटे क्षेत्रमा सप्तकोशी नदी किनारबाट दुईवटा रबर ट्युबमा हरियो प्लास्टिकले पोका पारी राखिएको अवस्थामा बेवारिसे २०५ किलो ६६५ ग्राम ताैल भएकाे ९६ बोरा लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषध र पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


































































