सुनसरी : सुनसरीको रामधुनी नगरपालिका–२ का सिटी सफारी चालक ४५ वर्षीय दिनेश कुमार चौधरीको हत्या अभियोगमा संलग्न ७ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

असोज २५ गते बेलुकी करिब ५ : २० बजे रामधुनी–२ कर्मनिया टोलस्थित भित्री सडकमा अपरिचित व्यक्तिहरूले चौधरीमाथि गोली प्रहार गरी हत्या गरेका थिए।

चौधरीको हत्यामा रामधुनी–१ का ४३ बर्षिय राजेश उर्फ राजकिशोर साह,रामधुनी १ का ४० बर्षीय नन्द किशोर साह,भोक्राहा नरसिंह–५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगञ्ज–४ का ३७ बर्षीय गियास मन्सुरी,देवानगञ्ज–५ का २५ वर्षका मिथलेश यादव,राजविराज–१६का २८ बर्षीय अंकित साह,राजविराज–९का २८ बर्षीय प्रिन्स कुमार दास सम्लग्न रहेको भन्दै सुनसरी प्रहरीले सार्वजानिक गरेको हो ।

प्रहरी अनुसन्धानका अनुसार मृतक चौधरीले “तान्त्रिक विधि” प्रयोग गरेर लामो समयदेखि आफ्ना परिवारका सदस्यलाई बिरामी पारेको र हैरानी दिएको” भन्दै राजकिशोर साह र नन्द किशोर साहले योजना बनाई समूहगत रूपमा हत्या गराएका हुन्। सोही योजना अनुसार इब्रान मिया लगायतका व्यक्तिहरूसँग रकम लेनदेन गरी चौधरी माथि गोली प्रहार गराएको प्रहरीको अनसनधानले बताएको छ।

घटनामा संलग्न सबैलाई मंसिर १७ गते सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।