सुनसरी : खुकुरी गरी आफ्नै ज्वाइँको हत्या गर्ने इटहरी-५ का ४३ वर्षीय रामकुमार भुजेललाई प्रहरीले सार्वजनिक गरेको छ। शनिवार साँझ इटहरीको मुख्य चौकमा सफारी चालक भुवने चौधरीलाई हत्या गर्ने मुख्य आरोपित र सहयोगीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । 
शनिवार साँझ साढे ६ बजेको समयमा इटहरीको नेशनल गल्लीमा खुकुरी प्रहार गरी इटहरी-५ बस्ने ३८ वर्षीय भुवने चौधरीको हत्या भएको थियो ।
खुकुरी प्रहारबाट चौधरीको बायाँ हात छिनेको थियो । त्यस्तै शरीरका विभिन्न भागमा चोट लागेको थियो । अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनको उपचारको क्रममा सोही दिन राति ८ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 
खुकुरी प्रहार गरी फरार रहेका मृतकका जेठान सोही ठाउँ बस्ने भुजेल फरार भएका थिए। उनलाई भारत जान लागेको थाहा पाउनासाथ जोगबनी नाकाबाट पक्राउ गरिएको ढकालले जानकारी दिए । 
हत्यामा संलग्न रहेको आरोपमा इटहरी-६ बस्ने २७ वर्षीय वेदप्रकाश मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनले आरोपित भुजेललाई भगाउन सफारीमा हालेर विराटनगर सम्म पुर्‍याएको आरोपमा पक्राउ गरिएको हो । 
पुरानो रिसईबीले अचानक खुकुरी प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ । 
पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
itahari-city-safari-khukuri