धरान : याक्थुङ लिम्बु समाजमा विद्यमान माया पिरतीका परम्परागत भाका र त्यसमा सांस्कृतिक अतिक्रमणको प्रभावजन्य नयाँ कथावस्तुमा निर्मित याक्थुङ आर्ट फिल्म्सको चलचित्र ‘मिम्लेनफुङ’ प्रदर्शनको तयारीमा छ ।

नेपाली भाषामा माया प्रेमको फुल ‘मिम्लेनफुङ’को कथा अहिलेको साइबर युगको माया पिरती भन्दा अलि अघिको छ । तर परिवेश नजिक छ । समाजलाई आधुनिकताले जतिसुकै प्रभाव पारे पनि, माया प्रेमलाई ‘लभ’ भने पनि आमने सामने त्यसको भाव प्रकट कठिन हुन्छ ।

तर लिम्बु समाजले आदिकालदेखी माया पिरतीका कुरा पालाममा प्रकट गर्ने सभ्य संस्कृति निर्माण गरेको कुरालाई चलचित्रमा निर्देशक रवि शेर्माले प्रासङ्गिक सन्दर्भमा प्रयोग गरेका छन् । लिम्बु, लिम्बुनी मेलापात, शुभ कार्यको भेटघाट हुँदा धान नाचेर दुःख, सुखका कुरा, माया प्रेमका भाका सुनाउने पालामको प्रयोगले ‘मिम्लेनफुङ’ याक्थुङ लिम्बु साङ्गीतिक चलचित्र हो कि भन्ने भान पनि पार्छ ।

सन् १९७० मा बहुचर्चित हिन्दी फिल्म आएको थियो, ‘हिर राँझा’ । हिर राँझाको अमर प्रेम कथामा बनेको चलचित्रका सबै संवाद उर्दु–हिन्दी शायरीमा थियो । नायक नायिका बिचको प्रेमालापका संवाद ‘मुना मदन’को जस्तो काव्यमय । त्यसका गीतहरू अहिले पनि युट्युबमा लोकप्रिय छन् ।

‘मिम्लेनफुङ’ पनि हरि (हरीमाया मादेन) र तीनताले ठूले (जीवन केदेम)को अमर प्रेमकथामा आधारित छ । उनीहरूले पालाममा त्यसलाई जीवन्त रूपमा प्रकट गरेका छन् । चलचित्रमा पालामको संयोग बनाउन निर्देशक शेर्माको सृजनशीलता पाँच दशक अघि ‘हिर राँझा’का निर्देशक चेतन आनन्दसँग मेल खान्छ ।

चलचित्र ‘मिम्लेनफुङ’को प्रेम कथाले मुख्य रूपमा याक्थुङ लिम्बु समाजको उदारता, स्वतन्त्रतामा मिश्रित संस्कृतिले अतिक्रमण गरेको सन्देश पनि दिन्छ । निर्देशक शेर्मा भन्छन् ‘मिम्लेनफुङ प्रेम–बिछोडको चलचित्र बन्नुमा त्यस्तो अतिक्रमणको नकारात्मक परिणाम देखाउनु पनि हो ।’

चलचित्र आशराज बोखिमको कथामा बनेको हो । कथामा तीनताले ठूले र हेन्छेबुङकी हरिमाया बाल्यकालका सहपाठी उमेरसँग प्रेममा पर्छन् । तर हरीमायाको लाहुरे बाबुले उनको विवाह नम्बरीको छोरासँग वाचा गरिसकेकाले हुन्छन् । परम्परागत समाज, परिवारको इच्छा र दबाबमा हरीमायाको र तीनताले ठुलेसँग विवाह हुँदैन ।

आफ्नो प्रमीसंग विवाह गर्न नपाएपछि हरीमायाले गाउँकै स्कुले सहपाठी भारतीय सेनाका लाहुरे छेवाङ तामाङसँग भागेर विवाह गर्छिन् । विवाह लगत्तै छेवाङले युद्धमा वीरगति प्राप्त गर्छन् । मृत्युको रुढीवादी दोष हरीमाया माथि आइलाग्छ ।

एकातिर रोजेको श्रीमानको मृत्यु अर्कोतिर पोइ टोकुवा, अलच्छिनी जस्ता लाञ्छनाबाट उनी पीडित हुन्छिन् । गैरजातिसँग विवाह गरेकी विधवा हरिमायाको निराश जीवनमा फेरी पुराना प्रेमी तीनताले ठूले आउँछ, उनीहरू नजिकिन्छन् ।

गाउँमा उनीहरूको पुरानो प्रेमको चर्चा चल्छ । सबैले विधवा हरिमाया-ठूलेको विवाहमा जोड दिन्छन् । तिनतले ठूलेले हरिमायालाई गाउँमा लाग्ने मेलामा भेट्ने चिट्ठी लेख्छन् । चिट्ठी ल्याउनेले जवाफ लगिदिने आग्रह गर्दा हरिमायाले भन्छिन् ‘म आफै मेलामा पालामबाटै जवाफ दिन्छु भन्दिनु है ।’ चलचित्रमा यसरी पालामको रोचक प्रवेश गराइएको छ ।

सुवर्ण नेम्वाङका सुमधुर पालामका नमुनाः नाःकन्ना निःवा मेम्बेक्नाबा, मिम्जिरे तुक्खे मेन्धेःक्नाबा । (वर र पर मन नजावस है, मायाले दुःख छेक्दैन है ।)  चुँजिक्केन एच्छा साआमेम्बी, तुम्मेन्दुम तुरुक्खे चाआमेम्बी । (जीवनमा एक्लै विधवा भएँ, नपाउनु दुःख साह्रै पाएँ ।) पालमकार नेम्वाङले भने ‘मैले सम्झनामा रहेका, आफुले देखेका यथार्थ घट्नाहरुलाई पालमहरु उतार्ने गरेको छु ।’

तिनतले ठूले र हरिमायको पूनर्जीवित प्रेम विवाह गर्ने निर्णय नजिक पुग्छ । लिम्बु जातिमा विधवा विवाह बैध मात्र होइन, दाजुको मृत्यु भए देवर भाउजु विवाह पनि स्विकार्य मानिन्छ । तर समाज मिश्रित बनेकोले अन्य जाति समुदायको सांस्कृतिक प्रभावका कारण तीनताले ठूलेकी आमाले त्यसलाई स्विकार गर्दिनन् ।

‘लोग्ने मरेकी’ केटीलाई बुहारी मान्न तयार नभएको वचनले हरीमायाको आत्म सम्मानमा ठूलो चोट पुर्याउँछ । अन्ततः हरीमाया जीवनभर विवाह नगर्ने निर्णय गर्दै आत्म सम्मान रोज्दै ठूलेको विवाह प्रस्तावालाई अस्विकार गरिदिन्छिन् चलचित्र सकिन्छ ।

मिम्लेनफुङको चलचित्र एक सामान्य महिल हरीमायाको ट्रेजेडीमा केन्द्रित छ । प्रेम बिछोडको पीडा माथि विधवा जीवनमा लाग्ने लान्छनासंग मौन संघर्ष गर्दै आत्मसम्मानका लागि अडिग महिलाको रूपमा हरिमायालाई उभ्याइएको छ । यो कुरा चलचित्रमा हरिमायाको मुख्बाट संवादमा यसरी प्रकट गरिएको छ ‘समाजले नदिएको सम्मान म आफैंलाई दिन्छु, यहाँ कोही मान्छे गलत जन्मँदैन, गलत मूल्य मान्यता समाजले बनाएको हो, जसलाई अब परिवर्तन चाहिएको छ ।’

चलचित्रमा यालाङ, पालामको जीवन्त अभिनयमा उत्रिएका नायक जीवन केदेम तीनताले ठूले वास्तविक जीवनमा पनि यालाङ, केलाङ, हाक्पारे र ख्याली साम्लोमा लागि परेको अगुवा हुन । असफल प्रेमीका रूपमा उनको अभिनयले जीवनमा जीत–हार स्वाभिक हो, त्यसलाई सहज रूपमा स्विकार गर्नु पर्छ भन्ने सन्देश दिएको देखिन्छ ।

हरीमायाकी किशोरीवयकी पात्रको भूमिकामा रेन्सा आङ्खेवाको अभिनय टेलिसिरियलको छुट्टै एपिशाेड झैं छाप छाड्ने खालको छ । चलचित्रका सहायक पात्रहरु कृष्ण लिम्खिम, भंगेरे कुमार लक्सम्वा, कमिता तुम्बापो, सनबहादुर मादेन, आइतरानी मादेन लगायतको अभियन भर्खरै देखीएका भेटिएका व्यक्ति झैं लाग्ने छन् ।