धरान : राष्ट्रिय विभूति फाल्गुनन्द लिम्बु समुदायको मात्र महागुरु नभएर उनको समाज सुधार अभियानले तत्कालीन पूर्वी नेपालमा महत्त्वपूर्ण भूमिका खेलेको आज मङ्गलवार आयोजित १४१ औँ फाल्गुनन्द जयन्तीमा सहभागीहरूले बताएका छन् ।
प्रदेश सरकारले फाल्गुनन्द जयन्तीका दिन प्रदेशभर बिदा गरेतापनि सार्वजनिक कार्यक्रम आयोजना भने नहुने गरेकोमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाले ध्यानाकर्षण गराउँदै भनिन् ‘समाज सुधारका सन्देश सहित स्थानीय सरकारले सार्वजनिक जन्म जयन्ती मनाउँदा राष्ट्रिय विभूतिको सम्मान सार्थक हुनेछ ।’
कोशी प्रदेश सरकारले फाल्गुनन्द जयन्तीको अवसरमा आज मङ्गलवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तर सरकारी तहमा प्रदेशका कुनै पनि स्थानीय सरकारहरूले सार्वजनिक कार्यक्रम गरेनन् ।
किरात याक्थुङ चुम्लुङ सुनसरीद्वारा आयोजित अन्तरक्रियामा राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बुले नेपालको इतिहासमा लिम्बु समुदायबाट समाज सुधारको क्षेत्रमा फाल्गुनन्दले गरेको योगदानको तुलना गर्न सकिने व्यक्तित्व अहिले सम्म नदेखिएको बताए ।
उनले झन्डै डेढ सय वर्ष अघि राणा शासनको बेला शिक्षा र समाज सुधारको कुनै पनि काम गर्न नसकिने अवस्थामा फाल्गुनन्दले भाषा, लिपि, मुन्धुमको उज्यालो फैलाउने काम गरेको बताए । फाल्गुनन्दले त्यस बेला गरेका कार्यहरू तत्कालीन अवस्थामा क्रान्तिकारी अभियान रहेको उनको भनाई थियो ।
किरात धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य सुक बहादुर लिम्बुले फाल्गुनन्दको बाल्यकाल चरम गरिबीमा बिते पनि उनी जीवन पर्यन्त समाज सुधारको कार्यमा सङ्घर्षशील रहेर बितेको बताए ।
चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवाले पछिल्लो समय धर्मको नामको विवादमा महागुरु फाल्गुनन्दको योगदानलाई अवमूल्यन गर्न नसकिने बताए । राष्ट्रिय चुम्लुङ सदस्य नरेशकुमार इङवारमले समाज सुधारमा फाल्गुनन्दले पुर्याएको योगदानलाई लिम्बु समुदायले नै बुझ्न नसकेको बताए ।
चुम्लुङ जिल्ला अध्यक्ष शिव सुब्बा इश्वोकाे सभापतित्वमा भएको कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष किरण लिम्बुले गरेका थिए । सञ्चालन सचिव पदमा लिम्बुले गरेकी थिइन् ।



































































