धरान : समाज सुधारक महागुरु फाल्गुनन्दको १३९औँ जन्म जयन्तीको अवसरमा आज शनिबार किरात धर्मावलम्बीहरूले उनको सम्झना गरेका छन् । धरानमा किरात याकथुङ चुम्लुङ नगर समितिको आयोजनामा बिहान चुम्लुङ हिममा आयोजित कार्यक्रममा सहभागीहरूले उनको तस्बिरमा माल्यार्पण गर्दै योगदानको चर्चा गरे ।
धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले फाल्गुनन्दको प्रेरणाबाट लिम्बु समुदाय आर्थिक, सामाजिक र क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा अघि बढेको बताए । उनले भने ‘हाम्रो भाषिक, सांस्कृतिक अधिकार र ऐतिहासिक धरोहरहरूको रक्षा तथा संरक्षणका लागि अहिले हामी जटेका छौँ ।’ सङ्गठित रूपमा यसरी अघि बढ्ने प्रेरणा फाल्गुननन्दबाट प्राप्त भएको उनको भनाई थियो ।
चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवाले लिम्बु समुदायलाई अहिंसाको मार्गमा ल्याउन तथा संस्कारगत चलनमा विद्यमान विसङ्गतिहरूलाई सुधार गर्न फाल्गुननन्दले युगान्तकारी अभियान चलाएको बताए ।
महागुरु फाल्गुननन्दले विक्रम सम्बत १९८८ सालमा पाँचथरको फिदिम स्थित अम्बेपेजोमामा १० लिम्बुवान १७ थुमका अगुवाहरू भेला गराई सत्य धर्म मुचुल्का गराएका थिए । उक्त मुचुल्का लिम्बु समुदायमा सामाजिक सुधारको प्रथा जनित नीति निर्माणको कोशेढुङ्गा मानिन्छ ।
राष्ट्रिय चुम्लुङ सदस्य, धरान-१५ का वडाध्यक्ष नरेश ईङवारमले महागुरु फाल्गुननन्दले लिम्बु समाजका लागि मात्र नभएर नेपालमा समाज सुधारको नयाँ अभियान सुरु गरेको योगदानको सम्मान गर्दै राज्यले ‘राष्ट्रिय विभूति’ घोषणा गरेको बताए ।
उनले सुरु गरेको ‘चुम्लुङ’हरूको निरन्तरताको रूपमा लिम्बु समुदायको भाषा, संस्कृति, आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि किरात याकथुङ चुम्लुङ लगायतका संस्थाहरू स्थापना भएको बताउँदै उनले भने ‘अबको समय संस्थागत रूपमा समुदायको लागि के गर्न सकियो भन्ने मूल्याङ्कन गर्दै अघि बढ्नु पर्ने समय हो ।’
चुम्लुङ उपमहानगर अध्यक्ष तीर्थ मादेम्बले चुम्लुङ नगर समितिले धरानमा लिम्बुहरूको पहिचानका लागि महत्त्वाकाङ्क्षी योजना तथा कार्यक्रमहरू निर्धारण गरेको बताए । उनको सभापतित्वमा भएको जन्म जयन्ती कार्यकममा स्वागत भाषण उपाध्यक्ष ललिता नम्बेवाङले गरेकी थिइन् । सञ्चालन सचिव बालकृष्ण सिंगकले गरेका थिए ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा महागुरु फाल्गुननन्दको जन्म भएको थियो । उनको निधन २००५ सालमा भएको थियो । महागुरुको योगदानको कदर गर्दै २०६६ मङ्सिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।









































































