धरान : जेन–जी आन्दोलनको नाममा अराजक गतिविधि भएपछि त्रसित सर्वसाधारणलाई चाडपर्वको बेला सुरक्षा निकाय सक्रिय भएको छ ।
चाडपर्वमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुनसरीमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो । कुनै घटना भए तत्कालीन अपराधलाई नियन्त्रणमा लिन धरानमा प्रहरी टोलीसँगै तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ । शनिवार देखी जिल्लामा सुरु भएको सुरक्षा अभियान धरानमा शनिवार धरान उपमहानगरपालिकाबाट कुकुरबाट सुरक्षा चेकिङको कार्य सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी केशवकुमार थेबेका अनुसार नागरिकलाई सुरक्षा प्रदान गर्न तालिम प्राप्त दुई कुकुर सहितको विशेष टोलीले सवारीसाधन र शङ्कास्पद व्यक्तिहरूमाथि कडा निगरानी गर्न थालेको छ ।
टोलीले प्रमुख नाकाहरू, सार्वजनिक स्थल, बजार क्षेत्र, पार्किङ, बसपार्क र भिडभाड हुने स्थानमा विशेष चेकजाँच थालेको छ । सवारी साधनबाट हुने तस्करी, अवैध सामानको ओसार पसार र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सचेत बनेको एसपी थेबेले बताए ।
चाडपर्वको मौका छोपी अवैध जुवा तास, मदिरा र लागू औषधको कारोबार नियन्त्रणमा प्रहरी सक्रिय भएको छ । विशेष गरी सीमावर्ती क्षेत्रहरूमा कडा निगरानी राखिएको एसपी थेबेले बताए । सुनसरीका इनरुवा, इटहरी, झुम्का, दुहबी, खनार तथा भारतीय सीमा क्षेत्र आसपासमा तालिमप्राप्त कुकुर सहितको विशेष सुरक्षा टोली परिचालन गरिएको छ ।
कुकुरको सहयोगमा हतियार, विस्फोटक पदार्थ र लागू औषध, जोखिमयुक्त वस्तु पत्ता लगाउन सजिलो हुने भएकाले आधुनिक प्रविधि र जनशक्ति दुवै प्रयोग गरिएको हो । एसपी थेबेका अनुसार चाडबाडमा अपराधी समूह सक्रिय हुन सक्ने सम्भावना हुन्छ ।
उनले भने ‘हामीले नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छौँ, कुनै पनि आपराधिक गतिविधि, अवैध कारोबारमा संलग्न हुनेलाई कानुनी कारबाहीबाट उम्किन दिइने छैन ।’