धरान : मुलुक जेन-जीको प्रदर्शनमा भएका ठुलो जनधनको क्षति व्यहोर्दै स्थिरता तिर लागेको सङ्केतले सर्वसाधारण नजिक आएको दसैँको तयारीमा लागेको पाइएको छ ।
दशै बजारमा आएको गतिबाट त्यस्तो पाइएको हो । दशै नजिकिँदै गर्दा धरानको कृषि उपज बजारमा असोज महिनामा लागेको दुई पटकको बजारमा २३ करोड रुपैयाँ बराबरको खसी बोकाको कारोबार भएको छ ।
कृषि बजारमा हप्ताको ४ पटक खसी बोकाको बजार लाग्ने गर्दछ । दशैंमा मासुको माग पूर्ति गर्न व्यवसायीहरूले यहाँबाट विभिन्न शहरमा खसिबोका लैजाने गर्छन् ।
बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार असोज महिनामा २ पटक लागेको बजार मार्फत करिब १० हजार ५०० खसी–बोका बिक्री भएका छन् । उक्त परिमाणको सरदर मूल्य करिब २३ करोड रुपैयाँ पुग्छ ।
उनले भने ‘हिजो बिहीबार र आज दुई दिनमा ५ हजार जति खसी–बोका किनबेच भयो यसअघि असोज २ र ३ गते ५ हजार ५ सय जति खसिबोका किनबेच भएको थियो ।’
यो परिमाणको व्यापार सहज तरिकाले भने नभएको उनको भनाई छ । लगातारको वर्षाले साउनमा खसी ढुवानीमै समस्या ल्यायो । त्यसै बिच जेन-जी आन्दोलनमा भएको तोडफोड, आगजनी, लुटपाटले व्यापारीहरू त्रसित थिए ।
सडक अवरोध हुँदा कतिपय किसानले ल्याएका खसी बोका फिर्ता लैजानुपरेको बताउँदै उनले भने ‘विषम परिस्थितमा उपभोक्ता कम आएका कारण कारोबारमा केही घटबढ भयो ।’

उनका अनुसार बजारमा वर्षैभरि करिब १ लाख २० हजार खसी बोका कारोबार हुन्छ । त्यसको कुल मूल्यको अनुमान २ अर्ब ४० करोड पुग्छ । एक खसी बोका साधारणयता ६ सय रुपैयाँ प्रतिकिलो दरमा बिक्री हुने गरेको छ ।

दसैँ नजिकिँदै गर्दा बजारमा भित्रिने र बाहिरिने मानिसको चहलपहल अझै बढ्दै गएको छ । मोलतोल गर्दै गरेका उपभोक्ता र बेच्न ल्याएका किसान बिचको उत्साहपूर्ण वातावरणले कृषि बजारमा दसैँ तिहारकै आर्थिक कारोबार र चाडपर्वको रौनक देखिन्छ ।
