झुम्का : हालै देशव्यापी रूपमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सुनसरीस्थित इलाका प्रहरी कार्यालय पकलीको भवन तथा भित्र रहेका मेसिनरी सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएका थिए। यसै घटनाबाट भएको क्षतिपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्यले ज्योति विकास बैङ्क झुम्का शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आवश्यक सामग्री उपलब्ध गराएको छ।

एक विशेष कार्यक्रमका बिच बैङ्कले प्रहरी कार्यालयलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गरेको हो। करिब ७६ हजार रुपैयाँ बराबरका ती सामग्री इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक लेखनाथ दाहाललाई ज्योति विकास बैङ्क झुम्का शाखा प्रमुख प्रकाश पराजुलीले हस्तान्तरण गरेका हुन्।

शाखा प्रमुख पराजुलीका अनुसार, बैङ्कले स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। उनले भने, “बैङ्क केवल वित्तीय कारोबारमा सीमित नहुँदै समाजलाई आवश्यक परेको बेला सहयोग गर्न अग्रसर रहन्छ। प्रहरी कार्यालयमा आवश्यक पर्ने उपकरण उपलब्ध गराउन पाउँदा हामीलाई खुसी लागेको छ।”

प्रहरी निरीक्षक लेखनाथ दाहालले ज्योति विकास बैङ्कलाई धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले कार्यालयलाई पुनः सञ्चालनमा सहज हुने बताए। उनका अनुसार, आन्दोलनका क्रममा भवन, अभिलेख, फर्निचर र प्रयोगमा रहेका अधिकांश सामग्री क्षति हुँदा सेवा प्रवाहमा चुनौती उत्पन्न भएको थियो। “यो सहयोगले हाम्रो दैनिक कार्य सञ्चालनलाई सहज बनाउन मद्दत गर्नेछ,” दाहालले प्रतिक्रिया दिएका छन्।

ज्योति विकास बैङ्क झुम्का शाखाले यसअघि पनि स्थानीय विद्यालय, सामाजिक संस्था तथा विपत् पीडितहरूलाई सहयोग गर्दै आएको छ। बैङ्कले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै समुदायमैत्री वित्तीय संस्था बन्ने प्रतिबद्धता जनाएको छ।