धरान : नेपालको इतिहासमा तराईबाट पूर्वी पहाड धनकुटा गौँडा प्रवेश गर्ने एक प्रमुख नाका धरान थियो । धरान-धनकुटा सडक नबने सम्म ताप्लेजुङ सम्म सुन देखी नुन पुर्‍याउने यो नाकाको मुख्य बजार हाल धरान-१३ स्थित फुस्रे बजार थियो ।

अहिले त्यही इतिहासलाई सम्झाउन फुश्रे बजारमा ५ वटा प्रतिकात्मक प्रतिमा बनाइएको छ । फुस्रेमै जन्मिएर हुर्किएका अहिलेका जेन

जी पुस्तालाई पनि ती प्रतिमाहरूमा प्रतिबिम्बित इतिहास थाहा नहुन सक्छ । जुन बेला मट्टितेलको कुपी बालेर फुश्रे बजारमा रातभर नुनको व्यापार हुन्थ्यो ।

अहिले भने फुश्रे आउने पर्यटकलाई अवलोकनका लागि मूर्तिकला प्रदर्शन गरिएको जस्तो लाग्ने प्रतिमाहरू हेर्दा ७८ वर्षीय कुल बहादुर श्रेष्ठ भने आँखा रसाउँदै नुनको ढाकर बाकेर हिँडेको त्यो दिन सम्झन्छन् ।

पहाडबाट भारी बोकेर झरेका मानिसहरूको लर्को र फुस्रेमा चल्ने नुनको मोलतोल, खाली खुट्टा नुन बोकोर फर्किने जीवनशैली ती प्रतिमाहरूमा प्रकट भएको उनी बताउँछन् । भन्छन् ‘यति बेला यही चौकमा हामी भारी बोक्थ्यौँ, पसिना पुछ्थ्यौं र कैलेकही हाँसी मजाक पनि गर्थ्यौ ।’

ताप्लेजुङ पाँचथरका लिम्बुहरू पालम गाउँदै धान नाच पनि नाच्थे । ती दिन त्यस बेला सुनौलो लाग्थ्यो । फुस्रे बजार नै धेरैको संसार थियो । भरिया, व्यापारी, साहु, हिमाली सेर्पेनी देखी तराईका मधेसीको संगमस्थल थियो फुश्रे बजार ।

पाँच प्रतिमाहरूमा एउटा ढाकरको भारीमा घर परिवारको जीवन बोकेको भरिया छ। अर्को विश्वास र सम्बन्धको कारोबारको प्रतीक पैसा बोकेका  साहुको प्रतीक छ । सेर्पा महिलाको प्रतिमाले संस्कृतिको रङ मिसिएको छ। अनि पहाड र तराईलाई जोड्ने पुल बनेका एका तराईका व्यापारीको प्रतीक छ ।

७७ वर्षीय इन्द्रमाया शाही भन्छिन् ‘हाम्रो त जवानी नै यहीँ बित्यो र बुढेसकाल यहीँ लाग्यो, अहिले मूर्ति हेर्दा हामी त्यहीँ उभिएका छौँ जस्तो लाग्छ ।’ प्रतिमाहरूले उनीहरूको जीवनलाई जीवन्त बनाएको जस्तो लाग्ने उनले बताइन् ।

प्रतिमाहरू २०७७ सालमा ‘धरान नगरको गौरव कार्यक्रम’ योजना अनुसार १५ लाख रुपैयाँको लागतमा बनेका हुन । मूर्तिकार धिरज राईले बनाएको उक्त प्रतिमाहरू पुस ७ गते तत्कालीन प्रदेश-१ का सभामुख प्रदीप भण्डारीले अनावरण गरेका थिए ।

कलाकार राई यी ५ प्रतिमाहरू केवल कलाकृति मात्र होइनन्। फुस्रे बजारको साक्षीहरू भएको बताउँछन् । उनले भने ‘प्रतिमाहरूले भनिरहेका छन् हामी यहाँ थियौँ, हामीले यहाँबाट जीवन बोक्यौँ ।’ फुस्रे बजार केवल हाट मात्र थिएन, यो हाम्रो जीवन थियो भन्ने भाव प्रतिमाहरूले प्रकट गरेको छ ।

फुस्रेमै जन्मिएका सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष महेन्द्र प्रधानका अनुसार फुस्रे चौकमा सर्दु जलधर क्षेत्रको मोडल सहित बनेको यो कलाकृतिले फुस्रे बजारलाई जीवन्त बनाएको छ । फुश्रे व्यापारिक केन्द्र नभई प्रकृति र मानव जीवनको संगमस्थलका रूपमा सम्झाएको उनले बताए ।

धरान-धनकुटा सडक फुस्रे बजारलाई बाइपास गरेर जिरोप्वाईन्टबाट लगेपछि फुस्रे बजार ओझेलमा परेको हो । फुस्रेको साख फर्काउने अभियानले पछिल्ला समय पर्यटकीय आकर्षणका कामहरू भइरहेको प्रधानले बताए ।

प्रतिमा शिलान्यास कै बेला फुस्रेका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिँदा देखी नै प्रतिमा निर्माणले फुस्रे अग्रजहरूको पनि सम्मानका रूपमा प्रतिमाहरू निर्माण हुन लागेको मानिएको थियो । उनले भने ‘त्यसै बिच ९२ वर्षीय चन्द्रप्रसाद घिमिरेलाई सबैले उभिएर ताली बजाउँदा, श्रम र सङ्घर्षको सम्मान भएको अनुभव सबैले गरेका थिए ।’

पछिल्लो समय सर्दु जलाधार क्षेत्रमा विभिन्न पार्क बनाइएकोले फुस्रे बजारको जीवन फर्किएको सङ्केत दिन थालेको छ । सिक्किम, दार्जिलिङ, विहार देखिका नेपालका आन्तरिक पर्यटकहरूको भिडभाड बढेको छ । प्रधानले भने ‘धरान धनकुटा राजमार्ग बनेपछि फुस्रे बजारले गुमाएको साख अहिले फर्किने क्रममा छ ।’