धरान : दशैंको मुखमा काठाण्डौबाट बाहिरीने यात्रुको चाप बढेको बेला नारायणघाट-मुग्लिङ सडक अवरुद्ध हुँदा दैनिक ८०० को संख्यमा चल्ने रात्रीबस सहित ठूला यात्रुबस सेवा ठप्प भएको छ ।
त्यस मध्ये कोशी प्रदेशको भोजपुर, ताप्लेजुङ, इलाम लगायतका पहाडि जिल्लाहरुबाट काठमाण्डौ चल्ने ९५ रात्रीबसहरुको सेवा दशैंको मुखमा प्रभावित भएको छ ।
त्रिभुवन राजपथको नारायणगढ/मुग्लिन सडकको तुईन खोला छेउमा गएको पहिरो आइतवार खुलाइएकोमा ३५ घण्टा पछि हिजो मंगलवार फेर ठुलो पहिरो झरेकोले तत्काल उक्त सडक बन्द भएको हो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार दशैंका मुख्यमा घर फर्कनेहरु लिएर आएका सार्वजनिक बसहरु बाटैमा अल्पत्र भएर बसेका छन् ।ठूला सवारी साधानको उक्त रुटमा कोशी प्रदेशबाट दैनिक ७५ वटा रात्रीबस चलिरहेकोमा दशैंको बेला ९५ वटा रात्रीबसहरु सञ्चालन भैरहेको उनले बताए ।
श्रेष्ठले भने ‘ठूला सवारीको सडकको जोखिमले प्रदेशको भोजापुर, ताप्लेजुङ, इलाम, पाँचथर सहितका जिल्लाहरुका दशैंमा घर आउनेहरुको यात्रा अनिश्चित भएको छ ।’ दशैंको सिजनमा लगानी उठाउने आशामा डेढ कारोड सम्म लगानी गरेर एसी, स्लिपर सिट समेतको अत्याधुनिक बसहरु शुरु गर्ने व्यवसायीहरु सडकको अवस्थाले डूबेको उनले बताए ।
नेपाल यातायात मजदुर संगठनको केन्द्रिय अध्यक्ष भीमज्वाला राईका अनुसार नारायणघाट–मुङलिङ सडक खण्ड अवरुद्ध हुँदा दैनिक ८०० ठूला रात्रीबस सहितका सवारी ठप्प भएको छ ।उनले भने ‘सडक विभागले आज साँझ सम्म सडक खुलाउने कुरा बताएको छ ।’ तर सडकको अवस्था र वर्षा नरोकिएकोले ठूला सवारी चल्ने नारायणगढ–मुग्लिन सडक खण्ड अझै पनि जोखिमपूर्ण छ । भरसक उक्त रुटबाट यात्रा नगर्नु बेश हुने उनको भनाई छ ।
चितवान जिल्ला प्रशासनले हिजो मंगलवार सडक आवागमन बन्द भएको सूचना जारी गर्दै सडक तत्काल खुल्ने सम्भावना नरहेको जनाएको छ । सूचनामा जोखिम मोलेर यात्रा नगर्न आग्रह गर्दै ज्याना बचाऔं यात्रा पछि गर्रौला, वैकल्पिक सडकबाट घुमेर यात्रा गरौं, बाटो खुल्ने आशामा दुःख र हैरानीमा नपरौं भनिएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्डलाई बाइपास गर्दै काठमाण्डौ उपत्यकाबाट बाहिर निस्कने ६ वटा बाटोको विकल्प पनि सुझावको रुपमा देखाइएको छ । उक्त रुटहरु भने साना सवारी साधनका लागि मात्र उपयुक्त हुने मजदुर संगठनका अध्यक्ष राईले बताए ।
उनले भने ‘विकल्पमा देखाइएका बाटोहरु एक दुईमा मुस्किलले ठूला बस चल्न सक्छन् ।’ लामो दुरीको रात्रीबस र ठूला सवारीका लागि नारायणगढ–मुग्लिन सडक खण्डको विकल्प देखिन्न ।