धरान : बाल यौन हिंसा विरुद्ध कलम चलाउँदै आएका पत्रकारद्वय कपुरी न्युजका रश्मि प्रधान र कोले न्युजका रोहित राई सम्मानित भएका छन् ।
प्रत्येक वर्ष भदौ २९ गते मनाइँदै आएको बाल दिवस यस वर्ष जेनजीको आन्दोलनका कारण ओझेलमा परेसँगै ११ वडा बाल सञ्जाल धरानले आज मङ्गलवार पत्रकारद्वयलाई नगद सहित सम्मानित गरेको हो । सोही अवसरमा धरानका ९० जना विद्यार्थीहरूलाई कापी र पेन्सिल प्रदान गर्दै बाल दिवस मनाएको छ ।
वडा बाल सञ्जाल धरान उपमहानगरपालिका वडा ११ को आयोजनामा भएको ६१ औँ बाल दिवसको अवसरमा प्रमुख अतिथि वडा ११ का अध्यक्ष लोकेन्द्र फागो सहित कार्यपालिका सदस्य रविन गुरुङले पत्रकारद्वयलाई सम्मान गरेका हुन । उनीहरूलाई नगद ५ हजार सहित सम्मान-पत्र प्रदान गरिएको छ ।
प्रमुख अतिथि फागोले बाल सञ्जालले समाजमा भएको बालबालिकाको गतिविधि मूल्याङ्कन गर्दै बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको बताए ।
उनले अझ आगामी दिनमा पनि बालबालिकाको हक र हित संरक्षणमा लागि पर्न आग्रह गरे । फागोले वडा कार्यालयको आर्थिक सहयोग र बाल सञ्जालको सहकार्यमा वडाका बालबालिकालाई प्राविधिक शिक्षा अन्तर्गत ६ महिने कम्प्युटर तालिम प्रदान गरिएको बताए ।
सञ्जालका अध्यक्ष रोजन शङ्कर लगायतको कार्यसमितिले धरानमा भएका बालबालिकाहरूको बाल यौन दुर्व्यवहारको घटना उजागर गर्दै बाल अधिकारको विषय उठानमा क्रियाशील रहेको छ ।
बाल सञ्जालले धरान-१६ मा भएको बालिका यौन दुर्व्यवहार र धरान ११ स्थित ज्ञानोदय स्कुलका शिक्षकद्वारा स्कुलका बालिका माथि गरेको दुर्व्यवहारको खुलेर विरोध गर्दै बाल अधिकारको विषय उठानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सञ्जाल अध्यक्ष शङ्करले बताए ।
उनले २ महिना अघि श्रमदाताद्वारा बालिकामाथि भएको यौन दुर्व्यवहार लुकाएको बिषयबस्तुलाई उठान गर्दै बाल यौन दुर्व्यवहारको घटना खुलासा गर्दै कलममार्फत यौनदुराचारी खजिन्द्र राईलाई कानुनी कठघारमा पुर्याउन सफल बनाउनु हुने पत्रकारद्वयलाई धन्यवाद दिँदै अझ कलम तिर्खान आग्रह गरे ।