इटहरी : मोरङको सुन्दरहरैँचा ५ बाँसबारी चोकमा रातीसम्म डाइस खेलेर होहल्ला गर्ने क्रम बढिरहेको छ । अघिल्लो वर्ष दसैँ र तिहारको आसपास लुकीछिपी हुने डाइस लगायत जुवा तासको गतिविधि प्रहरी निष्क्रिय भएसँगै बढेको हो ।
जेनजी आन्दोलनपछि प्रहरी कार्यालयहरू तोडफोड र आगजनी भएपछि प्रहरीले सक्रियता देखाएको छैन । जिल्ला देखि इलाका र वडा प्रहरी सम्म निष्क्रिय भएपछि आपराधिक गतिविधि बढेका हुन् । पूर्वमा अपराधको केन्द्र मानिएका सहरहरूमा चोरी डकैतीका घटना भइरहेका छन् ।
धरानमा प्रहरी अन्य स्थानमा भन्दा सक्रिय छ । प्रहरी मात्र हैन स्थानीयले समेत गस्ती गर्ने र जेनजी आन्दोलनको नाममा तोडफोडमा संलग्नलाई कारबाहीको लागि पक्राउ गर्न सक्रियता देखाएका छन् । इटहरी, बिर्तामोड, दमक, विराटनगर जस्ता सहर बजारमा जनप्रतिनिधि देखि स्थानीय नागरिकले समेत असुरक्षित महसुस गरेको बताइरहेका छन् ।
झुम्का कारागारबाट कैदी भागेपछि समाजमा झनै त्रास फैलिएको छ । त्रासबाट मुक्ति दिलाउने प्रहरी नभएपछि इटहरीमा स्थानीय नागरिकले गस्ती गर्ने गरेका छन् । इटहरीकै पकलीमा इलाका प्रहरी कार्यालय पुनर्निर्माण गरेर प्रहरीलाई सक्रिय बनाउने काम भएको छ । इटहरीमा इलाका प्रहरी कार्यालय ध्वस्त भएपछि तरहरा चौकीमा प्रहरी बसेको छ । तर हालसम्म प्रहरी सक्रिय भएको छैन ।
जनथप प्रहरी मात्र हैन ट्राफिक प्रहरी समेत सडकमा देखिएको छैन । चाडपर्वको समयमा सबैभन्दा धेरै दुर्घटना हुने भए पनि ट्राफिकले सक्रियता नदेखाएको हो । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको भवन र सवारी जलेपछि प्रहरी बाहिर आउन सकेको छैन ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले प्रहरी पुर्णरुपमा सबल भएको बताएका छन् । जनशक्ति र श्रोत साधनको अभावमा केही समस्या भएको भए पनि हामी काम भइरहेको बताए । सबैलाई सुरक्षित भएको महसुस गर्नको लागि अनुरोध गर्दै समुदायसँग प्रहरीको सम्बन्ध सुमधुर रहेकाले सुरक्षामा कुनै कमजोरी नभएको स्पष्ट पारे ।
ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष श्रेष्ठका अनुसार प्रहरी सडकमा परिचालन गर्ने अन्तिम तयारी भइरहेको छ । केही दिनमै सबै व्यवस्थापन मिलाएर सडक सुरक्षामा लाग्ने उनको भनाइ छ ।