धरान : धरान रनले सन २०११ देखी केही धावकहरूका साथ सुरु गरेको साप्ताहिक नियमित दौड आज शनिवार ७०० हप्ता पुरा गरेको छ ।

प्रत्येक शनिवार बिहान ७ बजे यलम्बर सामुदायिक बन पार्कबाट सुरु हुने दौड, सुरुमा तीनकुने पुगेर फर्किन्थ्यो । तीनढ्वाङ्गे पुल भत्किएपछि अहिले धावकहरू घोपा क्याम्प गेटतर्फ मोडिएका छन् । बाटो बदलियो तर धावकहरूको उत्साह उस्तै छ ।

सात सयौँ हप्ता पुरा गरेको अवसरमा शनिवार यलम्बर पार्कमा शुभकामना आदान प्रदान कार्यक्रममा नियमित धावकहरू, निरन्तर सहभागी हुँदै आएकाहरूको ठुलो सङ्ख्यामा उपस्थिति थियो ।

धरान रनले केवल दौडने अभ्यासलाई मात्र जीवन्त बनाएको छैन । सामाजिक सेवा र दानको संस्कृतिलाई पनि अँगालेको छ । नेवा च्यारिटी १०के प्रतियोगिताबाट सङ्कलित रकमले विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । खेलकुदको आम्दानीबाट असहायलाई सहयोगको उदाहरण पनि बनेको छ ।

कार्यक्रममा सहभागी एक धाविकाले भनिन् ‘हामी दौड्छौं, पसिना बगाउँछौँ, अनि त्यो पसिनाले अरूको पढाइमा उज्यालो ल्याउँछ ।” 

धरान रनको सुरुआत युकेको पार्क रनबाट प्रेरित सन्तोष राईले गरेका हुन । अहिले तरहरा, पोखरा, उर्लाबारी, ताप्लेजुङ र भोजपुर रन सम्म फैलिएको छ । यसले “खेलकुदको सहर” धरान “स्वास्थ्यप्रति सचेत सहर” को रूपमा चिनाउन मद्दत गरेको सहभागीहरूले बताए।

कार्यक्रममा ५० हप्ता र १०० हप्ता पूरा गरेका धावकलाई टिसर्ट प्रदान गरियो । तालीको गडगडाहट बिच टिसर्ट पाएका प्राप्त गरेका एक युवा धावकले भने “यो टिसर्ट मेरो दराजमा राख्ने मात्र होइन, मेरो जिन्दगीमा प्रेरणाको चिनो पनि हो ।” लुगा भन्दा ठुलो कुरा निरन्तरताको सम्मान हो यो ।

कार्यक्रममा धरान रनको ७०० हप्ताको यात्रा केवल दौडको नभई, धरानको सामूहिक भावना, स्वास्थ्य प्रेम र सामुदायिक भावनाको बनेको झल्किन्थ्यो । सहभागीहरूले धरान रन हुनाले बच्चा, बुढा, तन्नेरी दौडिरहेको बताए ।

एक ६५ वर्षीय धावकले भने “म पहिलो पटक साथीको करले रनमा सहभागी भएको थिएँ ।” सुरुमा दुई किलोमिटर पनि कठिन लाग्थ्यो । तर अहिले शनिवार बिहानको दौड मेरो स्वस्थ जीवनको आधार बनेको छ।