धरान : होटेल व्यवसायी महासङ्घ, कोशीले धरान आन्दोलनको आडमा व्यवसायी र व्यावसायिक प्रतिष्ठानमाथि आक्रमण भएकोप्रति कडा आपत्ति जनाएको छ । महासङ्घले भर्खरै उठ्न थालेको पर्यटन व्यवसायलाई यस्ता घटनाले फेरि धराशायी बनाउने चेतावनी दिएको छ ।
महासचिव बासुदेब बरालले सोमबार विज्ञप्ति जारी गर्दै धरानको होटेल कञ्चनजंगा, विराटचोकस्थित होटेल नेपालीरिका लगायत कोशी प्रदेश र मुलुकभरिका अन्य होटेलहरूमा आक्रमण भएकोप्रति घोर निन्दा गरेका छन् । उनले भने, “धरान आन्दोलनको आडमा व्यवसायी र व्यावसायिक प्रतिष्ठानमाथि आक्रमण गरेर वितण्डा मच्चाउने कृत्यको घोर भर्त्सना गर्दछु ।”
बरालले यस्ता घटनाले मुलुकको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छवि बिग्रने दाबी गर्दै व्यवसायी साथीहरूलाई धैर्यता अपनाउन र आफ्नो ज्यान-धन सुरक्षित राख्न आग्रह गरेका छन् । उनले थपे, “अहिले परिस्थिति प्रतिकूल भए पनि हामी तपाईँसँगै छौँ ।”
महासङ्घले व्यवसायीहरूलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सामूहिक संयमता अपनाउन अपिल गरेको छ ।