धरान : धरानका पुराना गोर्खाभूपु सैनिक समाजसेवी ‘कान्छा क्याप्टेन’ नामले चिनिने स्वर्गीय गोर्खा मेजर धनबहादुर लिम्बु सिरेङ चोङबाङ, स्वर्गीय फुलमाया लिम्बु र स्वार्गिय कृष्णकुमारी लिम्बुको स्मृतिमा याक्थुङ/लिम्बु भाषा लिपी पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ ।
धरान–१० का गोर्खाभूपु समाजसेवी भीमराज सिरेङ चोङबाङ लिम्बुले लिम्बु पत्रकार सङ्घ सुनसरीले व्यवस्थापन गर्ने गरी १ लाख ५ हजार ५०० रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन । उनले स्वर्गीय धनबहादुर र फुलमाया मातापिता तथा स्वर्गीय श्रीमती कृष्णकुमारी कृष्णकुमारीको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन ।
लिम्बु पत्रकार सङ्घ सुनसरी जिल्ला समितिले व्यवस्थापन र सञ्चालन गर्ने गरी स्थापना गरिएको कोषको रकम आइतबार उनकै निवासमा संक्षिप्त कार्यक्रममा जिल्ला अध्यक्ष स्वर्णिमहाङ लिम्बुलाई प्रदान गरेका छन् ।
उक्त अवसरमा उनले लिम्बुभाषा,लिपि पत्रकारिता पुरस्कार रकम वृद्धि गर्दै जान कोषमा पछि थप रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
सङ्घका केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले समाजसेवी भीमराज सिरेङले धरानमा गोर्खाभूपुहरुले गर्दै आएको योगदान महत्त्वपूर्ण योगदान पुर्याउदै आएको स्मरण गर्दै मातृभाषा लिपीको पत्रकारिताका लागि पुरस्कार कोष स्थापना गरेर उदाहरणीय कार्य गरेकोमा आभार प्रकट गरे ।
जिल्ला अध्यक्ष स्वर्णिमहाङले सङ्घको एक सुका अभियानमा छुट्टै लिम्बु भाषा लिपि पत्रकारिता पुरस्कारको लागि अक्षयकोष सञ्चालन गर्ने जिम्मा दिएकोमा धन्यवाद प्रकट गर्दै सङ्घलाई दिएको जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
सोही अवसरमा सङ्घले पुरस्कार कोषका लागि सञ्चालन गरेको ‘१ सुका अभियान’मा भीमराज सिरेङले छुट्टै २८ हजार रुपैयाँ प्रदान गरे । उक्त रकम सहित अभियानको २ महिना २२ दिनमा कुल ४ लाख ४ हजार ५८८ रुपैयाँ सङ्कलन भएको अध्यक्ष स्वार्णिमहाङले जानकारी दिएका छन् ।
अभियानकै क्रममा प्रदान गरिएको छुट्टै अक्षयकोषको रकम समेत लिम्बु पत्रकार सङ्घको एक सुका अभियानले कोष सङ्कलनको अङ्क ६ लाख ८८ रुपैयाँ पुर्याएको छ । रकम हस्तान्तरको अवसरमा सङ्घका प्रथम सहयोगदाता निमा पोङस्युवा र विनोद तेयुङ उपस्थित थिए