इटहरी : सुनसरीको झुम्का कारागारमा चार दिनको समयमा तीन जनाको मृत्यु भएको छ । बारम्बार कैदीको मृत्युले कारागार व्यवस्थापन प्रति आशङ्का जन्माएको हो । सामान्य बिरामी पछि मृत्यु भएको कारागार प्रशासनको जानकारीका आधारमा व्यवस्थापन फितलो देखिएको छ ।  

अज्ञात रोगका कारण मृत्यु भएको भनीएपनि डेङ्गु, मलेरियाको सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ । बिरामीको लक्षणका आधारमा लामखुट्टेको टोकाइबाट लाग्न सक्ने रोगहरूको अनुमान गरिएको हो । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या, वान्ता हुने, टाउको दुख्ने जस्ता लक्षणहरू बिरामीमा देखिएको छ । प्रहरी प्रशासनले भाइरल फिबरको कारण मृत्यु भएको दाबी गरे पनि सङ्क्रामक रोगकै जोखिम देखिएको बताइएको छ । 

तीन जनाको मृत्युपछि अन्य १२ जना बिरामीलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारको लागि लगिएको छ । प्रतिष्ठानकी प्रवक्ता अन्जु प्रधानका अनुसार १२ जनाको परीक्षण गरिएको र परीक्षणको विस्तृत विवरण आउन बाँकी रहेकाले यसै भन्न सक्ने अवस्था छैन । साँझ ५ बजेसम्ममा बिरामीको रोगको अवस्थाबारेमा जानकारी गराइने उनको भनाइ छ । 

बुधवार मृत्यु हुनेमा सप्तरीको राजविराजका ४६ वर्षीय जलेश्वर यादव रहेका छन् । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका उनको ज्वरो र वान्ता पछि मृत्यु भएको बताइएको छ । गत सोमबार एकै दिन दुई जना कैदी बन्दीको मृत्यु भएको थियो । 

सुनसरीको गढी गाउँपालिकाका ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको हो । उराव कर्तव्य ज्यान मुद्दामा र राई लागू औषधमा पुर्पक्षको लागि कारागार चलान भएका थिए । उरावलाई बिपी प्रतिष्ठानमा उपचार गराउने क्रममा निधन भएको थियो । राईलाई समेत वान्ता हुने, शरीर नचल्ने समस्या आएपछि प्रतिष्ठानमा उपचार गराउँदा गराउँदै सोमबार दिउँसो निधन भएको हो । 

कारागारमा कैदीको मृत्युपछि सम्पूर्ण कैदीको स्वास्थ्य परीक्षण गराइएको छ । बुधवार राति १ सय ६० जनाभन्दा बढीको परीक्षण गरिएको हो । झुम्का कारागारमा एक हजार ७ सय ९४ जनाले कैद भुक्तानी गरिरहेका छन् ।