धरान : धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बजेट पारित गर्न नगर सभा नबोलाई रहेको बेला बुधवार कार्यपालिकाको आकस्मिक बैठक बसेको छ ।
कार्यपालिका बैठक बसेपनि नगरसभा बोलाउने एजेण्डा थिएन । नगरप्रमुख साम्पाङले कर्मचारीहरूको तह वृद्धिको निर्णय गर्ने एउटा एजेन्डामा बैठक बोलाएका थिए ।
असार १० गते भित्र नगर सभाले बजेट पास गर्नुपर्ने कानुनी व्यवस्था छ । आर्थिक वर्षको दोस्रो महिना लाग्दा पनि नगर प्रमुख साम्पाङले नगर सभा गर्न सकेका छैनन् ।
गत भदौ १३ गतेको कार्यपालिका बैठकले विवादास्पद ढङ्गमा अल्पमतबाट आर्थिक वर्ष २०८२/०८३ को बजेटमा १३ वटा वडाको बजेट सिलिङ पास गरेको छ । अन्य ७ वटा वडाले सिलिङ नबुझाएको हुँदा बजेटले पूर्णता पाएको छैन ।
त्यसपछि हिजो बुधवार बैठक बसेको हो । कार्यपालिका बैठकले बजेट र नगर सभाको विषयमा छलफललाई निरन्तरता दिनुपर्ने बेलामा प्रमुख साम्पाङले कर्मचारीको तह वृद्धिको एक मात्र एजेण्डामा बैठक  बोलाएका हुन ।
नेकपा एमालेको पार्टी निर्देशन मान्ने असन्तुष्ट पक्षको सहमति बिना बजेट नगर सभामा पारित हुने सम्भावना छैन । असन्तुष्ट पक्षले मेयर भिजन कोष, उपमेयर भिजन कोष राख्न नहुने सहित ५ बुँदे माग राखेका छन् । त्यही अडान सहित भदौ १३ गतेको बैठक उनीहरूले बहिस्कार गरेका थिए ।
हिजो बुधवारको बैठकमा भने भदौ १३ गते बहिष्कार गर्ने एमाले वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू पनि उपस्थित थिए । एमाले कार्यपालिका सदस्य एवम् दलकी उपनेता सावित्री परियारले कर्मचारीहरूको तह वृद्धिको मात्रै एजेण्डा ल्याउने समझदारी अनुसार बैठकमा उपस्थित भएको बताइन् ।नगरप्रमुख साम्पाङको हस्तक्षेप नभई कर्मचारीहरूको तह वृद्धिको विषय स्थायी प्रशासनसँग जोडिएकोले उनीहरूको अवसरलाई सुनिश्चित गर्न प्रस्तावलाई समर्थन गरेको उनको भनाई छ ।
उपनेता परियारले भनिन् ‘बजेट सम्बन्धी विवादमा भने नगर प्रमुख साम्पाङले छलफलमा बोलाएमा एमाले पक्षको असहमति कायमै रहेको छ ।’ उपमहानगरपालिका श्रोत अनुमान तथा बजेट सिलिङ समितिले २ अर्ब २० करोडको बजेटमा एमालेले असहमति जनाएको हो ।