धरान : प्रहरीले सुरक्षा सुनिश्चितता अभियानको क्रममा भोजपुर जिल्लामा गाँजका ८ हजार बोट र बिरुवा फडानी गरी नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
नष्ट गरिएको गाँजाको बोटहरू प्राकृतिक रूपमा आफै उम्रिएकाहरू भएको बताइएको छ । इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाको प्रहरी टोलीले हतुवा गढी र आम चोक गा पाको वडाहरूमा गाँजाको बोट फाँडेका हुन ।
फाँरिएका करिब ४३ रोपनी क्षेत्रफलमा आफै उम्रिएका ४ हजार २ सय वटा गाँजाको बोट र ३ हजार ८ सय गाँजाको बेर्ना नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले डाँडा पाखामा उम्रिएका लागू औषध गाँजाको बोट तथा बेर्नालाई निरन्तर फडानी गरी नष्ट गर्दै आएको जनाएको छ ।