वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका-८ चक्रघट्टीस्थित सप्तकोसी बहुमुखी क्याम्पसले यस वर्षको स्नातक तह चौथो वर्षको परीक्षामा उल्लेखनीय नतिजा हासिल गर्दै कोसी प्रदेशमै उत्कृष्ट सामुदायिक क्याम्पस बनेको छ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमार्फत सञ्चालित परीक्षामा शिक्षा शास्त्र सङ्कायतर्फ ६६ जना विद्यार्थीमध्ये ४७ जना (७१.२१ प्रतिशत) उत्तीर्ण भएका छन्। त्यस्तै, व्यवस्थापन सङ्कायतर्फ सहभागी ६६ जनामध्ये २८ जना (४२.४२ प्रतिशत) सफल भएका छन्।

व्यवस्थापन संकायका विद्यार्थी नारायण राउतले ८६.६ प्रतिशत अङ्क हासिल गर्दै कोसी प्रदेशकै प्रथम हुने गर्विलो उपलब्धि ल्याएका छन्।

क्याम्पस प्रमुख सुशील कोइरालाका अनुसार, सप्तकोसी बहुमुखी क्याम्पसले पाउन थालेको शैक्षिक सफलता यसैबाट प्रमाणित हुन्छ। उनका अनुसार, “सुविधा र भौतिक संरचनामा अब्बल रहेका सहरी क्याम्पसलाई समेत पछाडि पार्दै हाम्रो क्याम्पस प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ।”

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेर २०६७ सालमा स्थापना भएको सप्तकोसी बहुमुखी क्याम्पसले छोटो समयमा नै शैक्षिक गुणस्तरमा उल्लेखनीय फड्को मारेको हो।