धरान : कुशे औंशी, बुवाको मुख हेर्ने दिनसँगै आज शनिवार युवक कवि मोतीराम भट्टको १६० औँ जन्म जयन्ती धरानमा कविहरूले ‘फर्कन्छु आफ्नै घर’ शीर्षकको कविता वाचन गरेर मनाएका छन् ।
मोतीरामको स्मृतिमा साहित्यिक कार्यहरू गर्दै आएको नेपाली शिक्षा परिषद्ले यसपालि समस्यापूर्ति कविताको लागि उक्त शीर्षक दिएको थियो । विषय÷शीर्षक दिएर कविहरूलाई उत्प्रेरित गर्ने परम्परा मोतीरामले शुरु गरेका थिए ।
मोती संस्मरण समितिद्वारा आयोजित मोती जयन्तीमा दर्जन कविहरूले ‘फर्कन्छु आफ्नै घर’ शीर्षकको कविता वाचन गरेका हुन । यसअघि युवक कवि मोतीरामको प्रतिमामा साहित्यकारहरूले माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।कविता वाचन गर्नेहरूमा कवि हिकमत खड्का, भरतमणि भट्टराई,मच्छिन्द्र खत्री, ऋषिराज राई, केशव सुनाम, ईश्वर लामिछाने, अम्बिका शाक्य, श्रेष्ठ परिक्रमा, खेमराज दाहाल, गोपाल भण्डारी थिए ।
वरिष्ठ कवि बम देवानको प्रमुख आतिथ्यमा भएको नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्राडा. गोपालप्रसाद भण्डारीले नेपाली गजल लेखन, साहित्यिक जमघट आयोजना गरी रचना वाचन गर्ने परम्पराको सुरुआत मोतीराम भट्टले गरेको बताए ।
कवि शिरोमणि लेखन साधना समाजको सचिव डा.भवानी शङ्कर भट्टराईले भने ‘मोतीराम युवाहरूमा राष्ट्रियताको भावना जगाउने युवा कवि थिए ।’ प्राडा. खेमराज दाहालले मोतीरामले बनारसमा रहँदा भरतेन्दु हरिश्चन्द्रको सङ्गतमा रही साहित्यिक प्रेरणा प्राप्त गरेको बताए ।
मोती संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा भाषाविद् प्राडा टङ्कप्रसाद न्यौपानेले मोतीरामले छोटो उमेरमा नेपाली साहित्यले माथि उठाउन गरेको योगदानको चर्चा गरेका थिए ।
मोती भवन भत्काएपछि धरान उपमहानगरपालिका कर्मचारी एसोसिएसनको हलमा आयोजना गरिएको मोती जयन्तीमा प्रशासन महाशाखाका प्रमुख वेदप्रकाश सापकोटाले उपमहानगरपालिकाको नयाँ भवन निर्माण भएपछि सभा हलको नाम मोतीराम हल राखिने जानकारी दिए ।
उनका अनुसार भवन भत्काएपछि स्टोरमा राखिएको मोतीरामको प्रतिमा हल अगाडि स्थापना गरिने छ । कार्यक्रमको सञ्चालन गिरिराज खतिवडाले गरेका थिए ।



































































