बलराम वाला खाम राई
धरान : यसपालिको मनसुनी वर्षा सुरु भएपछि धरानमा बग्ने खोलाहरूमा आएको बाढीले सीमावर्ती बस्ताहरू जोखिममा परेका छन् । दुई दिन देखीको वर्षाले खोला किनारका बस्तीहरूमा ठुलो क्षति पुर्याएको छ ।
मङ्गलवार देखी परेको वर्षा बुधवार पनि जारी छ । वर्षाका कारण निशाने खोला, सर्दु खोला, सेरा खोला र ठकुरी खोलामा आएको बाढीले छेउछाउका बस्तीहरू जोखिममा परेका छन् ।
बाढी बस्तीमा पस्दा कैयौँ परिवारहरू विस्थापित भएका छन् । सबैभन्दा प्रभावित क्षेत्रहरूमा धरान–१३ अमर बस्ती पछाडिको इलाकामा निशाने खोलाले धार परिवर्तन गर्दै बस्ती कटान गरेको छ । ७ घर पूर्ण क्षतिग्रस्त भएका छन् । १० भन्दा बढी घर उच्च जोखिममा छ । प्रारम्भिक अनुमान अनुसार करिब ३ करोड रुपैयाँ बढीको क्षति भएको छ ।
स्थानीय राधिका लिम्बूको घरभित्र पानी पसेपछि रातभर जाग्राम बस्नु प¥या । घरका बालबालिका र वृद्धलाई सुरक्षित स्थानमा लैजानु परेको उनले बताइन् । कमला राईका अनुसार २ दिनदेखि घरमा बस्ने अवस्था छैन । बाढी आउने डरले आफन्तको घरमा बास बस्नु परेको छ ।
धरान–४ को निशाने खोलामा आएको बाढीले किनार कटान गर्दै बस्तीमा माटो र ढुङ्गा पुर्याएको छ । कतिपय ठाउँमा विद्युत आपूर्ति अवरुद्ध गरेको छ । धेरै ठाउँमा खानेपानीको पाइप लाइनलाई क्षति पुर्याएको छ ।
धरान–१७ मा सर्दु खोला र ठकुरी खोलामा आएको बाढीले जोखिम बढाएको छ । वर्षासँगै खोला उर्लिएर खेत र बगैँचा सहित बस्तीमा पस्दा स्थानीयहरूले रातभर बोराबाट अस्थायीले तटबन्ध बनाएर बाढी रोक्ने प्रयास गरे । तर, निरन्तर आएको वर्षाले बोराहरू समेत बगाएको वडावासीले बताए ।
नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार, धरान सहित पूर्वी पहाडी क्षेत्रमा पछिल्लो २४ घण्टामा औसत भन्दा दोब्बर वर्षा भएको छ । मापन केन्द्रका तथ्याङ्क अनुसार, धरान क्षेत्रमा १२० मिलिमिटर सम्म वर्षा भएको रेकर्ड गरिएको छ । उक्त तथ्याङ्क सामान्य वर्षाको दरभन्दा निकै बढी हो ।
महाशाखाले अझै २/३ दिन वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ । पहाडी क्षेत्रका सानाठूला खोला बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले जनाए अनुसार धरान उपमहानगर पालिकाका जोखिमयुक्त वडामा क्विक रेस्पोन्स टिम, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवक परिचालन गरिएको छ ।
गृह मन्त्रालयको बाढी–पहिरो जोखिम सूचीकृत क्षेत्रहरूमा धरानका कम्तीमा ७ वटा वडाहरू उच्च जोखिममा रहेको उल्लेख छ । धरानका जोखिममा रहेका वडाहरूमा ४, ५, ६, १३, १५, १६ र १७ प्रमुख छन् ।
धरान–१३ की कौशिला श्रेष्ठले खोलाबाट १५/२० मिटर टाढा थियौँ, पानीको बहावले केही घण्टामै बढेर नजिक आयो । धरान–१७ का युवराज मगरका अनुसार ठकुरी खोलाले बगाउने डरले हामी रातभर पालैपालो जाग्राम बस्यौँ । केटाकेटी र बूढाबूढीलाई पहिले नै सुरक्षित स्थानतर्फ पठायौँ ।
बाढीले कच्ची तथा अर्धपक्की घरहरूमा क्षति पुर्याएको छ । विद्युत, खानेपानी र आवागमन अवरुद्ध हुँदा प्रभावित वडाहरूमा सामान्य दैनिकी ठप्प भएको छ । स्थानीयले तत्काल तटबन्ध निर्माण, नदी किनार दीर्घकालीन बाढी( व्यवस्थापन योजना लागू गर्न सरकारसँग माग गरेका छन् ।
धरानको यो प्राकृतिक सङ्कट केवल मौसमको कारण मात्र नभई अव्यवस्थित शहरी विस्तार र कमजोर तटबन्ध व्यवस्थापनको पनि परिणाम हो । वर्षाले खोलाहरूको स्वाभाविक बहावलाई तीव्र बनाउँदा खोला किनारका बस्तीहरू बारम्बार बाढीको प्रकोपमा पर्ने गरेका छन् ।