धरान : साविक पाँचकन्या गाविसको धरान-५ वडाका लागि कोशी प्रदेश सरकारको लगानीमा निर्मित स्वास्थ्य चौकी भवनको थप तला बिहीबार देखी सञ्चालनमा आएको छ ।

प्रदेश सरकारको कुल १५ लाख रुपैयाँको बजेटमा निर्मित भवनको तला प्रदेश सभा सदस्य यशोदा कायस्थले एक समारोह बिच उद्घाटन गरेकी हुन । उनले स्वास्थ्य चौकी भवनमा थप तला निर्माण भएपछि पाँचकन्याका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्न सहज भएको बताइन् ।

सांसद कायस्थले प्रदेश सरकारबाट योजना स्वीकृत भएपछि स्वयं नियमित अनुगमन गरी ३ महिना भित्र स्वास्थ्य चौकी भवनमा थप तला निर्माण कार्य सम्पन्न गराउन सफल भएको बताइन् ।

वडाध्यक्ष मनप्रसाद लिम्बुको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वडासदस्यहरु विजय राई, सुनिता राई, प्रेमबहादुर दाहाल, शान्तामाया विश्वकर्मा, स्वास्थ्यकर्मी स्थानीय समुदायको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा पाँचकन्या स्वास्थ्य विभाग प्रमुख चन्द्रप्रसाद खनालले वडाको स्वास्थ्य सेवाका बारेमा प्रकाश पारेका थिए । 

स्वास्थ्य केन्द्रमा अधिकृत तहका ४ सहित ५ स्वास्थ्य कर्मचारी छन् । वडामा महिला स्वास्थ्य स्वयं सेविकाहरूको सङ्ख्या ९ छ ।