उर्लाबारी : अपवादको रूपमा विदेशबाट पढेर, सिकेर स्वदेशमा पौरख गर्ने युवा नभएका होइनन् । तर गाउँमा भएको घर, खेत धितोमा राखेर विदेश जाने नेपाली युवाहरूको थुप्रै छन् ।

उनीहरूका लागि कुनै बेला खल्तीमा ५ सय रुपैयाँ मात्र भएको बेला आफ्नै पेशा सुरु गर्ने अठोट लिएका पवनदेव ठाकुर उदाहरण बनेका छन् । कपाल काटेरै उनी अहिले मोरङको उर्लाबारीमा लाखौँको घरका मालिक बनेका छन् ।

उर्लाबारी बजारमा सामान्य सैलुनमा कपाल काट्नेहरू पालो कुरिरहेका देखिन्छन् । बरगाछी चोकको पवन हेयर सैलुनमा अहिले दमक, पथरी, इटहरीबाट मोटरसाइकल चढेर कपाल कटाउन मानिस आउँछन् ।

पवनले दश वर्षअघि ५०० रुपैयाँ लिएर सैलुन खोल्ने सपना लिएर उर्लाबारी आएका थिए । भारतको दिल्लीमा ३ महिना तालिम लिएर आएका उनले बरगाछीमा सैलुन सुरु गरे । सैलुनमा अहिले ८ जनाले काम गर्छन्। बिहान ६ देखि राति ८ बजेसम्म कपाल काट्नैमा व्यस्त हुन्छन् ।

उनले भने ‘खाना खाने समय सम्म पाइँदैन, फुर्सद भनेको कुरा हराएको छ ।’ पवनको अहिले दैनिक १० हजार रुपैयाँ आम्दानी हुन्छ । ग्राहकले पालो पाउन पर्खनु पर्छ, कोही फोन गर्छन्, कोही अर्को दिन आउँछन् ।

पढाइमा रुचि नभएका उनलाई सानै उमेर देखी परम्परागत पेशा नै आफ्नो काम हो भन्ने लाग्थ्यो । पवनले भने ‘काम सानो ठुलो केही हुँदैन, मिहिनेत गर्ने सोचमा भर पर्छ ।’

उनकाबारे उर्लाबारी-९ का डम्बर राई भन्छन् ‘पवनजस्तो सफा काम कसैले गर्दैन, कपाल काट्दा चित्त बुझ्छ ।’

पवन केवल व्यवसायमै सीमित छैनन् । नमुना बालगृहका बालबालिकाहरूको निःशुल्क कपाल काटिदिने सामाजिक सेवामा पनि संलग्न छन् । कपाल काट्ने सीपका लागि युवाहरूलाई तालिम दिएर श्रमप्रति प्रोत्साहित गर्ने काम पनि गर्दै आएका छन् ।

उनले तालिम दिएका युवाहरूले आफ्नै सैलुन पनि खोलेका छन् । उनी भन्छन् ‘मैले सिकाएका केटाहरूले आफैँ पसल चलाउँदा खुसी लाग्छ ।’