धरान : जनता समाजवादी पार्टीको प्रदेश १ अधिवेशन भदौ २७ र २८ गते विराटनगरमा आयोजन गर्ने आइतबार सम्पन्न प्रदेश समितिको बैठकले निर्णय गरेको छ ।

अधिवेशनलाई महत्त्वपूर्ण राजनीतिक सन्देश दिन उपयोग गरिने जसपा नेपाल प्रदेश अध्यक्ष दीपक याक्खाले बताए । अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सह-अध्यक्ष रकम चेम्जोङ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

बन्दशत्रमा एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने प्रदेश मुख्य सचिव घनश्याम कटुवाल जानकारी दिए । बैठकले प्रदेश निर्वाचन समिति संयोजकमा अधिवक्ता उपेन्द्र लावतीलाई नियुक्त गर्ने केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

अधिवेशन तयारी उपसमितिहरूमा आर्थिक समितिमा केशव जबेगू, मनोज यादव, टङ्क मोक्तान, ऐत चेम्जोङ, रिता खापुङ र दीर्घमान तामाङ रहेका छन् । प्रचार प्रसार, प्रकाशनमा हस्तशोभा राई, भक्त राई, नवीन माबोहाङ र श्याममाया राई रहेका छन् ।

राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन मस्यौदा समितिमा दीपक याक्खा, घनश्याम कटुवाल र केशव जबेगू रहेका छन् । प्रतिनिधि व्यवस्थापनमा विष्णुकुमार लावती, विशाल आङ्देम्बे, तेन्जिङ शेर्पा, मनोज यादव, आङ्छेपाल शेर्पा र भरत याक्खा रहेका छन् ।

अतिथि सत्कारमा पदमकुमारी राई,उषा यादव र कुमार सुनुवार, हल, मञ्च, आवासतर्फ अनिल ठाकुर, सम्सतबरेज आलम, नवीन राई र छिवाहाङ राई छन् ।

अधिवेशनका लागि प्रदेश मातहतका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र मधेस राष्ट्रिय समितिसहित मोरङ, सुनसरी, धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु जिल्ला अधिवेशन सम्पन्न भइसकेको बताइएको छ।