धरान : धरानको खानेपानी समस्या दीर्घकालीन समाधान गर्न असफल भएका नगर प्रमुख हर्क साम्पाङले एडिबीले नेपाल सरकारलाई दिएको अनुदान मध्ये ६ अर्बको परियोजनामा ८५ प्रतिशत अनुदान लिएर समस्या समाधान गर्नुपर्ने व्यवसायी तथा काँग्रेसका नेता पर्वत राईले बताएका छन् ।
उनका अनुसार कोशीको खानेपानी धरान ल्याउन जोडदार माग उठाउँदै चुनाव जीतेका प्रमुख साम्पाङले देश, विदेशबाट गाँस कटाएर पठाएको ९ देखी १० करोड कोकाहबाट पानी ल्याउन खर्च गरे तर पानी आयो ३ इञ्च । त्यसबाट धरानको दीर्घकालीन समस्या समाधान नहुने निश्चित भएकोले कोसीबाट पानी ल्याउन अनुदान र ऋण लिन सक्नु पर्ने बताएका हुन ।
उनले भने ‘एडिबीले दिएको ८५ प्रतिशत अनुदानको १५ प्रतिशतमा धरानेको १ रुपैयाँ पर्दैन, तर ६ अर्ब अनुदान आएपछि ऋण भन्दै प्रमुख हर्क भाइले जनतालाई उल्लु बनाउँदैछन् ।’ उनका अनुसार ६ अर्ब मध्ये ८५ प्रतिशत नेपाल सरकारले र १५ प्रतिशत स्थानीय सरकारले तिर्नु पर्ने हो भने पनि लिनुसक्नु पर्छ ।
राईले भने ‘१५ प्रतिशत ऋणमा धराने जनताले १ रुपैयाँ पनि नतिर्ने उपाय छन्, उपाय लगाउनु सक्नुपर्छ, त्यो पनि तत्काल तिनुपर्ने होइन ।’ जनताले दिएको कर, उपभोक्ताबाट उठेको खानेपानी बिलबाट तिनुपर्ने हो । १५ प्रतिशत तिर्न खानेपानी बिल बढाउन पर्दैन । खानेपानीको महसुल हिजोआज दोब्बर उठाईदैछ । वार्षिक महसुल १९ करोड हाराहारी उठिरहेको छ । करको दायरा बढी रहेको छ । कर बढाएर जनता मार्न नपाइने राईले बताए ।
सञ्चारकर्मीहरूसँग आइतबार आफ्नो धारण राख्दै फिजिकल ट्रेनिङ सेन्टरका सञ्चालक एवं काँग्रेस महासमिति सदस्य राईले विदेशमा बसेका दाजुभाइ दिदी बहिनीहरूले गाँस कटाएर पठाएको रकम नगर प्रमुख हर्क साम्पाङले सदुपयोग नगरेको बताए । धरानको विकास र खानेपानी अभाव टार्न उनीहरूले ९ देखि १० करोड रुपैयाँ दिए ।
उनले भने ‘तर त्यो रकम सदुपयोग भएन, हर्क भाइले ९ देखि १० करोड खर्च गरेर सुख्खायाममा ३ इन्च भन्दा बाहेक पानी धरानमा आएको छैन ।’ उनको कोकाहा भाग १ र २ भन्दै सङ्कलन गरेको रकमले ल्याएको पानी ३ देखी ४ इन्च भन्दा बढी छैन ।’
विदेशमा बस्नेहरूले बालबच्चा, श्रीमती, बाउआमाको गाँस काटेर सहयोग गरेको रकम कुन भित्ता छ ? कहाँ लेखाजेखा छ ? कुन शिलालेखमा छ ? भनी प्रश्न गर्दै राईले भने ‘त्यत्रो रकम शिलालेखमा हुनुपर्ने हो तर छैन । पछि छोराछोरीले खोजेर बाउआमाले सहयोग गरेको रकम रहेछ म पनि सहयोग गर्छु भन्ने इच्छा आएमा कहाँ हेर्ने ? अहिले मक्ख नपर्दा हुन्छ, त्यसको खोजी पछि छोराछोरीले गर्दा पाउने कि नपाउने ?’
लाहुरेले बनाएको सहर
धरानलाई लाहुरेले मृत सहर हुनबाट बचाएको भएको उनको भनाई छ । राईले भने ‘धरानका लाहुरेहरूले उबेला गरेको विकास गरेको भन्दा बाहेक अहिले नयाँ केही विकास भएको छैन ।’ हर्क साम्पाङले त्यसको भन्दा एक छेउ विकास नगरेको उनको भनाई छ । भत्किएको च्यातिएको ठाउँमा समेत टालटुल समेत नभएको उनले बताए ।
उनले भने ‘धरानमा जनसहभागिताको सुरुआत लाहुरेहरूले पहिला नै गरेको हुन ।’ अहिले धरानमा सामाजिक सञ्जालमा मात्र विकास भएको छ । उल्टै विनाश मात्र भएको छ । धरानका ठुला-ठुला कार्यालयहरू जति सबै अन्यत्र सरेका छन् । धरानका लाहुरेहरूको परिवार जति सबै युके सेटल भइरहेको दुःखद अवस्था समेत रहेको उनले बताए ।
धरान बेथितिको दलदलमा
राईले भने ‘नगर प्रमुख साम्पाङले केन्द्र, प्रदेश सरकार सँग समन्वय नगरेको कारण हो की ? किन हो सङ्घीय सरकारले पर्याप्त बजेट समेत विनियोजन गरेको छैन ।’
धरान उपमहानगरपालिकाका नगरप्रमुख साम्पाङले आएदेखि धरान बेथितिको दलदलमा फसेको बताए । भने ‘धरानको अवस्था साँच्चै नाजुक छ, भविष्य नै डामाडोल छ । यहाँ हरेक कुरा बेथितिको सञ्जालमा फसेको छ ।’
स्थानीय सरकारको बेथितिका कारण खाद्यान्न, लत्ताकपडा, हरियो सागसब्जी लगायतको दैनिक उपभोग्य बस्तु समेत इटहरी भन्दा धरानमा महँगो छ । कुनै पसलमा बजार मूल्य एकरूपता कायम गर्न नसक्नु स्थानीय सरकारको नालायकीपन हो । उनले भने ‘नगरप्रमुख साम्पाङका कारण धरान बेथितिमा चलिरहेको छ ।’
श्रमदानको परिभाषा उल्टो
नगर प्रमुख साम्पाङले श्रमको परिभाषा नै उल्टो बनाएको राईले बताए । उनले भने ‘नगरप्रमुख साम्पाङले ले चलाएको श्रमदान फिल्म सुटिङ गर्न गए जस्तो, चिटिक्क पर्ने फोटो खिच्ने, मासुभात खाने फर्किने अनि वास्तविक काम चै डोरहाजिरीमा काम गर्ने कामदारले गरेका छन् ।’
उनका अनुसार श्रमदान त खाजा बोकेर हाफ पाइन्ट, गम्बुट लगाएर स्वयं सेवाको रूपमा गरिन्छ । सफा लुगा, चिटिक्क लुगाले श्रमदानको परिभाषा दिँदैन । उनले भने ‘स्पष्ट नीति बनाए श्रमदान गर्न आमन्त्रण गरे म पनि श्रमसँग जोडिन्छु ।’
उनले भने ‘ढाड सेकिने गरी सम्पत्ति कर, लाभ कर, आयकर, तिर्न लगाउने अनि श्रमदानमा को जान्छ ? ’कर कटाउनुस् कर घटाउनुस् श्रमदान गर्न सबै धराने जान्छन् राईले भने ।
सफारी र ट्याम्पुमा कर बढाएर गरिब जनता मार्दै
राईले वार्षिक स्वतः १० करोड कर आउने ठाउँमा खेर गइरहेको बेला १७ देखि १८ लाख उठाउन सिटी सफारी र टेम्पु कुदाउने गरिब जनतालाई कर असुलेर गरिखाने जनतालाई मर्कामा पारेको बताए । उनले भने ‘सफारी टेम्पु कुदाएर छाक टार्नेबाट कर बढाएर नगरप्रमुखले जनता मार्ने काम गरिरहेका छन् ।’
बेसार उद्योग खोल्नु राम्रो भए पनि ४ सय रुपैयाँ केजी पर्ने बेसार ८ सयमा बेचेर कार्यकर्तालाई तलब खुवाउन मात्र सुरु गरिएको हो भने बेसार उद्योग व्यक्तिगत हो भन्न सक्नु पर्ने राईको भनाई छ ।
बजार भाउ नियन्त्रण गर्नु पर्ने स्थानीय सरकारले उल्टै बजारमा ४ सय केजीको बेसार साढे ८ रुपैयाँमा बेचेर के गर्न खोजिएको हो ? उनले प्रश्न गरे ।
धरानमा छाडातन्त्र
सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कानुनको दायरामा ल्याउन नसकेका कारण धरानमा छाडातन्त्र मैलाएको उनले बताए । नगर प्रमुखका समर्थकहरूलाई सत्य कुरा नपचेका कारण गाली गरिरहेका छन् ।
फेक आइडी बनाएर गाली गरी रहेका छन् । उनीहरूलाई सामाजिक नैतिक, भौतिक कारबाही नभएका कारण छाडातन्त्र विकास भएको हो । तर कारबाही भएको छैन । कारबाही भए छाडातन्त्र विनाश हुन्छ । उनले भने ‘जायज कमेन्ट स्वकार छ, जायज कमेन्टले कमजोरी सुधार्न सकिन्छ तर नाजायज कमेन्ट मलाई स्वीकार छैन ।’ नकारात्मक कमेन्ट गरे कानुनी कारबाहीका लागि उनको भनाई छ ।