धरान : कोशी प्रदेश सभा सदस्य बिजय राईले धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले धरानको खानेपानी समस्या दीर्घकालीन समाधान गर्न होईन् जनतालाई भ्रम छर्ने काम मात्र गर्दै आएका बताएका छन् ।
उनले खानेपानीको प्रोजेक्ट कार्यान्वयन भयो नगर प्रमुख साम्पाङको एजेण्डा नै सिद्धिएर पैसा उठाउँदै आफ्नो हितमा प्रयोग गर्न नपाइने डरले ६ अर्बको आयोजना लिएर मन्त्री धरान आउँदा भागेको आरोप लगाए ।
सञ्चारकर्मीहरूलाई बिहीबार सांसद राईले भने ‘खानेपानीको आयोजनाबाट धरानको खानेपानी दीर्घकालीन रूपमा समाधान भए देश विदेशबाट सहयोग बन्द भएर आसेपासे, भरौटे, झोले, पुच्छर अन्धभक्तहरू पाल्न नसकिने डरले खानेपानी मन्त्री ६ अर्वको आयोजना लिएर आउँदा भागेको हो ।’
सामाजिक सञ्जालमा ढुङ्गा, पाईप बोकेको देखाएर विदेशबाट पैसा उठाउनु पाइँदैन भन्ने डरले एडिबीले दिएको ६ अर्ब अनुदान लिन नखोजेको उनको भनाई छ । सांसद राईले भने ‘एडिबी परियोजनाले देशभर खानेपानीको लागि ५० अर्ब ऋण दिएको छ, त्यसमध्ये ६ अर्ब धरानका लागि अनुदान हो, ऋण दिएको होईन ।’
अनुदानमा १५ प्रतिशत स्थानीय सरकारले व्यहोर्नु पर्ने हो कुरालाई गलत व्याख्या गरेर नगर प्रमुख साम्पाङले ऋण बोकाउँदिन भन्ने बहाना निकाल्नुको मतलब के हो ? मन्त्री आफै आउँदा भाग्नु पर्ने कारण के हो ? प्रश्न गर्दै उनले भने ‘झोले झयाम्टे पुच्छर विनाको अन्धभक्त पाल्न नसकिने डर ले नै हुनुपर्छ ।’
उनले धरानको लागि ६ अर्बको परियोजना सुनौलो अवसर भएको बताए । यो अवसर गुमे फेरी अर्को अवसर तुरुन्त आउन नसक्ने बताउँदै भने ‘नगर प्रमुखले देखाएको जद्धीपन फिर्ता लिन नागरिक समाज, सरोकारवाल निकाय सबै मिलेर दबाब दिनु जरुरी छ ।’
उनका अनुसार खानेपानी समस्या न्यूनीकरण गर्न सङ्घीय सांसद अशोक राई प्रदेश सांसद रमेश बस्नेत सहित आफू नगरप्रमुखको कार्यकक्ष जाँदा खासै चासो नदेखाएको र पटक पटक भेट्न जाँदा समेत भेट्न नचाहेको फोन सम्पर्क गर्दा फोन रिसिभ गरेनन् ।
तर धरान बनाउन आफूहरू सङ्घर्ष गर्दै आएकोले प्रदेश सरकारले समस्या न्यूनीकरण गर्न २०८०/०८१ र २०८१ /०८२ को बजेटमा ३ वटा डिपबोरिङ सञ्चालन गरी ५५ देखि ६० लाख लिटर पानी निकालेको सुनाए ।
दलहरूको भन्दा बढी आर्थिक अनियमितता
सांसद राईले भने ‘दलहरूले चलाएको स्थानीय सरकार भन्दा बढी हालका नगरप्रमुख साम्पाङले चलाउँदा बडी आर्थिक अनियमितता भएको छ ।’
साम्पाङ आए देखि हालसम्म एडिबीको ऋण तिरेका छैनन् । त्यहाँ उठेको रकम कहाँ जादैछ ? उनका अह्रौटे भरौटेका लागि मात्र बोर्डको रकम प्रयोग भईरहेको छ । उनले जनतामा भ्रम मात्र सिर्जना गरेका छन् । आर्थिक अनियमितता भएको महालेखा प्रतिवेदनमा समेत आएको छ । उनले भने ‘ढिलो छिटो पर्दाफास हुन्छ आर्थिक अनियमिताको ।’
उनका समर्थकले फेसबुकमा दिने गाली गलौजले केही असर गर्देन गाली ताली गोली खान तयार भएर आफू राजनीतिमा उत्रिएको उनले बताए ।
चाडै नगर अस्पताल जरुरी
धरानमा कार्यविधि बनाएर तुरुन्त नगर अस्पताल सञ्चालन गर्नु पर्नेमा सांसद राईले जोड दिएका छन् । उनले भने ‘पहल चैँ नगर्ने, पत्र लेख्दा पनि कुलङघार भनेर अस्पताल आउँछ ?’ समन्वय सहकार्य गर्नुपर्ने नगरप्रमुख नै हुन ।
उनी बिपीको सिनेट सदस्य पनि भएकाले उनले सिनेट बैठक डाक्न लगाएर ठाउँमा कुरा उठाउनु पर्ने उनले बताए । उनले नगर अस्पताल बनाउन कुनै राजनैतिक दलको विमति नभएको सांसद राईले स्पष्ट गरे । नगर अस्पताल बनिनु पर्दछ । सिनेट सदस्यले बैठकमा निर्णय गर्न सक्नु पर्छ । प्रक्रिया चैँ नअपनाउने अनि पत्र पठाएर मात्र हुन्छ ? भन्न सांसद राईको भनाई छ ।
सामाजीक रुपमा तिरस्कृत, पार्टीबाट फटाई गरेर निष्कासित भएका मान्छेहरू बटुल्दै भरौटे उचालेर सडकमा उफारेर राजनीति नहुने उनले प्रमुख साम्पाङ लाई सल्लाह दिए । भने ‘हावामा राष्ट्रिय झण्डा ओढेर स्वतन्त्र हुँ भन्दै झन्डाको दुरुपयोग गर्ने छुट कसैलाई छैन, राष्ट्रिय झन्डाको अपहेला हुदैछ ।’