काठमाडौँ उपत्यकाभित्र तथा बाहिरका सुन व्यापारीले केही महिना अघिसम्म भन्थे, ‘सुन प्रतितोला साढे दुई लाख रुपैयाँ पुग्छ ।’ गत वैशाखमा सुन प्रतितोला एक लाख ९७ हजार तीन सय रुपैयाँ पुग्यो । २०२२ सालसम्म सुन प्रतितोला ८० रुपैयाँ थियो । केही दशकमै सुनको मूल्य हजारौँ गुणाले बढेको छ ।
सुनको मूल्य बढिरहँदा सुन त्यही हो । तौल त्यही हो । अनि कसरी एकाएक सुनको मूल्य बढ्यो त ? यसमा व्यापारीकै हात छ । राजस्व छलेको, भ्रष्टाचार गरेको पैसा मानिसहरूले सुनमा लगानी गरे । सुन किनबेच गर्दा राज्यको ढुकुटीमा राजस्व नआउने । न त कोसँग कति सुन छ भनी थाहै हुने । सुन व्यापारीले आम सर्वसाधारणलाई नराम्ररी ठग्दै आएका छन् ।
सुन बेच्दा तौलमा गडबड गर्नुका साथै तोकिएको मूल्यभन्दा ४०-५० हजार रुपैयाँ बढी असुल्ने । फेरि त्यही सुन सर्वसाधारणले बेच्दा चाहिँ तोकिएको रकम समेत नपाउने । सुन बेचेपछि भ्याट बिल नदिने । सरकारलाई व्यापार घाटा देखाएर राजस्व छल्ने जस्ता काम सुन व्यापारीहरूले गर्दै आएका छन् । मानिसहरूले सुनको मूल्य बढिरहन्छ भनेर आफूसँग भएको सबै पैसाले सुन किने, घरमा थुपारे ।
अहिले सुनको मूल्य नबढेपछि महँगोमा किनेहरु डुबेका छन् । सुनमा मात्र होइन, सेयरमा पनि यस्तै भइरहेको छ । असार अन्तिममा नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्यायो । त्यति बेला सेयर प्रतिकित्ता २५ सय रुपैयाँ थियो । अहिले बढेर साढे २९ सय रुपैयाँ पुगेको छ । सेयरको मूल्य बढेसँगै बजारमा केही सेयर दलालीहरू ४२ सय पुग्छ भनेर अफवाह फैलाइरहेका छन् ।
सेयर बैङ्क, वित्तीय संस्था, इन्स्युरेन्स, हाइड्रोपावर कम्पनीहरूले प्रतिकित्ता एक सय रुपैयाँमा निष्कासन गरेको हो । यद्यपि, यसबारे जनता अझै अन्जान छन् । कोही चाहिँ थाहा भए पनि लगानी गरिरहेका छन् । अनि भोलि डुबेपछि चाहिँ अरूमाथि दोष लगाउँछन् । अहिले साढे २९ सयमा सेयर किनबेच भइरहँदा सय रुपैयाँको मात्र राज्यलाई राजस्व तिरिरहेको छ ।
साढे २८ सयको राजस्व छलिन्छ । सहकारी, लघुवित्त, फाइनान्स डुबिसके । बैङ्क पनि सङ्कटमा छ । हाइड्रोपावर, बिमा कम्पनीहरूमा पनि समस्या देखिँदैछ । उनीहरूले कर्मचारीलाई तलब दिन सकेका छैनन् । घरधनीलाई भाडा तिर्न सकेका छैनन् । अनि घाटामा गएको कम्पनीको सेयरको मूल्य कसरी बढ्छ ? यो दलालीको खेल हो ।
सर्वसाधारणको आँखामा छारो हालेर धमाधम ठगी गर्ने काम भइरहेको छ । सेयरमा लगानी गर्ने सर्वसाधारण करोडौँ छन् । तर, यसको नाइके ५०–६० जना छन् । तिनीहरूले करोडौँ जनतालाई भ्रममा पारेर लुटिरहेका छन् । आफूले सेयर बेच्ने बेला मूल्य बढाउँछन् भने किन्ने बेला स्वाट्टै घटाइदिन्छन् ।
जग्गामा पनि यही भएको हो । एक हजार आनामा बिक्री नहुने जमिन टुक्रा टुक्रा बनाएर लाखौँदेखि करोडौँमा बेचियो । यो काममा पनि सीमित दलालीहरू नै संलग्न थिए । निमुखा किसानसँग सस्तोमा जग्गा किन्ने अनि डोजर चलाएर खण्डीकरण गरेपछि त्यसको हजारौँ गुणा बढीमा बेच्ने ! उता, छिमेकी मुलुक भारत र चीनमा एक लाखमा पाइने सवारी साधन यहाँ लाखौँदेखि करोडौँमा बेचिएको छ ।
यसमा पनि सीमित अटो व्यवसायीहरू संलग्न छन् । दलाल, चलाखहरूले कसरी जनतालाई लुट्छन् ? त्यो पनि सुइँको नपाउने नगरी भन्ने उदाहरण हुन् यिनीहरू । दलाल मात्र होइन, नेताहरूले पनि जनतालाई त्यसरी नै झुक्काएर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । ओली, देउवा, प्रचण्ड, नेपाललगायत राजनैतिक दलका नेताहरू आफूहरूले देशमा विकास गरेको विकास गर्छन् ।
यिनीहरूको पृष्ठभूमि केलाउने हो भने बिहान बेलुका पेटभरि खान नपाउने, एक जोर नयाँ कपडा वा चप्पल लगाउने हैसियत नभएका हुन् । अहिले उनीहरूकै मुलुकको राजधानीजस्तो ठाउँमा महलजस्तो घर छ, राजाजस्तो जीवनशैली छ, हातमा घडी मात्र करोडौँको बाँध्छन्, दिनहुँ माछा मासु, मिष्ठान खान्छन्, कपडा महँगो ब्रान्डको लगाउँछन्, करोडौँ पर्ने गाडीमा चढ्छन् ।
अनि यिनीहरूले देश विकास गरे कि आफ्नो जीवनशैली ? नेताहरूले विकासको नारा दिएर भरपुर भ्रष्टाचार गरे । देश तहसनहस बनाए । आफ्नो फाइदाका निम्ति देशको भूभाग नै बेचे । टंकनपुर, सिक्किम, दार्जिलिङ, तिब्बत, कालापानी, लिपुलेक, लिम्पियाधुरा, कोलकत्ता पहिले नेपाली भूभाग थियो । अहिले यी भूभाग भारत र चीनको भनी परिचित छ ।
यो बेच्ने को त ? यिनै गणतन्त्रका नेताहरू होइनन् र ! राजाजस्तो जीवनशैली बिताउन उनीहरूले देशको भूभाग नै बेचिदिए । यति मात्र होइन, देशलाई विदेशी ऋणको भारी बोकाएका छन् । २७ खर्ब पाँच अर्ब १७ करोड पुगिसक्यो विदेशी ऋण । देशभित्रै पनि सरकार ऋणैऋणमा छ । निर्माण व्यवसायीको ४५ अर्ब, दूध तथा उखु किसानको सात अर्ब र कोरोना बिमा गराएका अस्पतालहरूको २४ अर्ब भुक्तानी दिन बाँकी छ ।
यता, जनतालाई उपलब्ध हुँदै आइरहेको सबै सेवा सुविधा कटौती गरिएको छ भने कर्मचारी, जनप्रतिनिधिलाई पोस्ने क्रम जारी छ । देशका युवाहरू सबै विदेशमा छन् । विदेशमा रगत पसिना बगाएर उनीहरूले कमाई पठाएको रेमिट्यान्समा पनि यिनै नेता भनाउँदाको रजगज चलेको छ । त्यसले नपुगेर सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिरको जग्गा धमाधम व्यक्तिको नाममा पास गरिदिएर करोडौँ घुस खाइरहेका छन् ।
जनताले तिरेको करदेखि विदेशबाट ल्याएको खर्बौँ ऋण नेताहरूले मोज मस्ती गरेर सिद्ध्याएका छन् । तर, अझै पनि देशमा विकास गछौं भनेर जनतालाई भ्रममा पार्ने अनि लुट्ने क्रम जारी छ । जनतालाई पनि नेताहरूले देश बेचिसकेको, विदेशबाट आफ्ना छोरा छोरी, आमाबुवाले पठाएको रेमिट्यान्स दुरुपयोग तथा सरकारी सम्पत्ति दोहन गरेको थाहा छैन ।
अनि म यो पार्टी, तँ त्यो पार्टी भन्दै एकापसमा जुध्छन् । सहकारीमार्फत जनताको करोडौँ रकम खाएका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने अहिले जेलको चिसो भइँमा छन् । तर, उनको बचाउमा रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ । यति मात्र होइन, चन्दासमेत उठाइरहेका छन् । फेरि जनता पनि रविमाथि अन्याय भयो भन्दै धमाधम हस्ताक्षर र रकम सहयोग गरिरहेका छन् ।
ठगीकै आरोपमा जेल गएको व्यक्तिलाई त जनता यसरी सहयोग गर्छन् भने नेताहरूले थोरै मिठो बोलिदिए वा राम्रो व्यवहार गरिदिए के गर्छन् होला ? जनता शिक्षित त भए, तर उनीहरूमा सचेतना आएन । के ठिक र के बेठिक ? भन्ने कुरा छुट्याउन सकेनन् । दलालहरू बाहिर बसेर ठगिरहेका छन्, नेताहरू सिंहदरबार, बालुवाटार बसेर जनता लुटिरहेका छन् ।
०२८ सालमा ओलीले झापामा भात खाइरहेका एक व्यक्तिको घाँटी काटेको र सोही कसुरमा १४ वर्ष जेल बसेको बताइन्छ । माओवादी दश वर्षे जनयुद्धमा १७ हजार मारिए ।
त्यसमध्ये पाँच हजार आफैँले मारेको प्रचण्डले स्वीकारेका छन् । अनि यस्ता हत्यारा, दलालहरू जनताले तिरेको करबाट तलब भत्ता, सेवा सुविधा लिइरहेका छन् । जनताले नै तिरेको करबाट तलब भत्ता खाइरहेका सुरक्षाकर्मीहरू पनि उनीहरूलाई नै उफ्रिउफ्री सलाम ठोक्छन् ।