मनोहर शाक्य
नाग पञ्चमी नेवार समुदायले नेवा: धर्म, संस्कृति र परम्परा अनुसार नागलाई विशेष रूपमा मान्दै आएको पर्व हो ।
नेपाल सम्वतको ९ औँ महिनाको रूपमा गुँला महिनामा मनाइने जात्रा भएकोले नाग पञ्चमीबाट निस्किने लाखेलाई गुँला लाखेको रूपमा पनि नचाईने गरिन्छ ।यसैले लाखे जात्रा पनि नाग पञ्चमीबाटै सुरु भएको हो ।
नेवार संस्कृतिमा नागलाई पूजा गर्ने, विभिन्न चाडबाड र जात्रामा पनि नागलाई विशेष महत्त्व दिई मान्दै आएको छ ।नागको वासस्थानको आधारमा बज्र यान बौद्ध परम्परा अनुसार १२ तीर्थको पनि विकास भएको देखिन्छ ।
सोही अनुसार वरुण नागराज टेकु दोभानमा चिन्तामणि तीर्थ, तक्षक नाग राजाको चांगु पुण्य तीर्थ त्यस्तै शान्ति तीर्थ कोटेश्वर,शंकर तीर्थ शंखमूल, ज्ञान तीर्थ, प्रमोद तीर्थ, सुलक्षण तीर्थ,मनोरथ तीर्थ र राज तीर्थहरू नागका वासस्थान मानिन्छ । नाग पञ्चमीका दिन ती नागका वासस्थान तीर्थमा गई नागलाई पूजा गर्ने गरिन्छ ।
त्यस्तै,घरैपिच्छे नागको चित्र टाँसेर पूजा गर्दा नागले घरको रक्षा गर्छ,चट्याङ बज्र पर्दैन र प्रशस्त मात्रामा पानी पनि पर्छ भन्ने जन विश्वास छ ।
घरमा चट्याङ बज्र पर्दैन भन्ने कुरामा पनि बज्र इन्द्रको हतियार हो भने इन्द्र र नागका पिता कश्यप ऋषि भएको दाजुभाइको बिचमा बज्र प्रहार गर्नु हुँदैन भन्ने मान्यता रहेकाले पनि हो भनिन्छ । कश्यप ऋषिकी श्रीमती कद्रुबाट नागको जन्म भएको हो ।नाग सर्पहरूको राजा पनि हो ।
नागको पूजा गर्नुमा धार्मिक,सांस्कृतिक,सामाजिक र प्राकृतिक मान्यता पनि रहिआएको छ । विष्णुभगवान् र महादेवलाई अन्त्यतै मन पर्ने भएर नै शेष शायी भगवान् विष्णु नागमाथि विश्राम गर्नुहुन्छ भन्ने महादेवले नागको माला लगाएर बस्नुभएको हो ।
बुद्ध धर्ममा पनि नागको महत्त्व
बुद्ध धर्ममा पनि नागको महत्त्व छ ।त्यसैले बुद्धको मुकुन्डोमा पनि नागको प्रतीक राख्ने गरिन्छ ।नागहरूमा मुख्यतया आठ किसिमका अनन्त, वासुकी, पद्म, महापद्म,कुटिल,कर्कट,शंख र चष्टलाई विशेष रूपमा लिइन्छ ।
एउटा आख्यानअनुसार एक पटक नागले दुःख दियो भनी एक जना ज्यापुले नागका बच्चाहरू गरी दिएको रोचक किम्बदन्ती छ।बच्चालाई खानेकुरा खोज्न गएको नाग फर्केर बच्चा मारिराखेको देखी रिसले चुर भई नागले त्यो ज्यापूलाई लखेटी लखेटी ज्यापु र परिवारलाई मारिदिएछ ।त्यस ज्यापूका एउटी छोरी भने भाग्यले बाँचेकी रहिछिन् ।अनि त्यो छोरीचाहिँले नागको प्रार्थना गरी धूप बत्ती बालेर बसिछिन । नाग आफ्नो सामु आउँदा अनुनय विनय गरी दूध खुवाइछन् । यस प्रकार पूजा आराधना दूध खुवाएकाले नागको रिस पनि मरेछ र शान्त भएछ ।
अनि,खुसी भई नागले त्यस छोरीलाई जीवन दान दिएर के माग्छौ माग तिमीले मागेको मैले दिने भएँ भनेछ ।त्यो छोरीले पनि मरिसकेका मेरा आमाबाबु,दाजुभाइ र दिदीबहिनी सबैलाई बाँच्न दिनुस् भनी मागिछन् ।नागले पनि वचन गइसकेकाले तुरुन्तै ती सबैलाई बचाइदिएछ ।
त्यो दिन श्रावण शुक्ल पक्षको पञ्चमी परेको रहेछ । त्यही दिनदेखि उपत्यकाका ज्यापूहरूले नागको पूजा गर्दै आएको हो भन्ने जन विश्वास छ । नाग पञ्चमीका दिन धापाखेलको नाग दहमा ठुलो मेला लाग्छ ।
एउटा आख्यान अनुसार १६ वर्ष कि तरुनी तर कुरूप एउटी किरातिनीलाई लोग्नेले त्यागेर गएपछि यस्तो कुरूप भएर बाँचिरहनेको केही सार छैन बरु मरेर जान्छु भनी जङ्गलमा गइन ।
जङ्गली जनावरले खाओस् भनेर जङ्गलमा गए पनि हरिबोधिनी एकादशीदेखि कात्तिक पूर्णिमाका दिनसम्म खान नपाएर बस्नुपर्यो ।
त्यस किरातिनीलाई जङ्गली जनावरले पनि नखाएकाले आत्महत्या गरेर पर्छु भनी धापाखेलको नाग दहमा फाल हालिन ।तर दैव संयोग त्यही समयमा एउटा किराँत युवक पनि सिकार खेल्दै त्यहाँ पुगेछ ।
नाग दहमा युवतीले हाम फालिरहेको देखी बचाएर बाहिर ल्याउँदा त्यस कुरूप किरातिनी अत्यन्तै राम्री सुन्दरीको रूपमा देखा परिन ।
नयाँ रूप लिन पाएको र त्यस नाग दहको महत्त्व र महिमाको गुणगान गर्दै नाग पञ्चमीका दिन ठुलो मेला लाग्ने गरेको हो भनिन्छ । भक्तपुरको सिद्ध पोखरीमा पनि नाग पञ्चमीका दिन ठुलो मेला लाग्दछ ।
मल्ला वंशका प्रथम राजा अभिमल्लको शासनकालमा पानी नपरेर हाहाकार भएकाले राजाले तान्त्रिक विधिअनुसार सिद्ध पोखरीमा नाग सिद्ध गरेका रहेछन् ।
त्यही सिद्ध पोखरीको डिलमा बसेर एक पटक ठिमीका एक जना व्यापारी र उसको साथी तान्त्रिक गफ गरिरहेको समयमा सिद्ध पोखरीका नागलाई त्यो तान्त्रिकले अनेक प्रकारले हाउभाउ गरी जिस्क्याउन थालेछ ।
पोखरी भित्रको नागलाई साह्रै रिस उठेछ ।अनि, त्यसले त्यस तान्त्रिकलाई पोखरीभित्र आई लड्न आउँ भनी चुनौती दिएछ ।
त्यो तान्त्रिक पनि के कम व्यापारी साथीलाई एक मुठी चामल मन्त्रेर दिँदै भन्छ, ‘म त्यो नागलाई मारेर आउँछ तिमीले मलाई यो चामलले हिर्काउनु’ यति भनेर त्यो तान्त्रिक पोखरीमा हाम फालेछ ।केही समय पछि पोखरीको नागलाई मारेर त्यो तान्त्रिक साथी फर्केर आउँदा व्यापारी साथी डराएर ठिमीतर्फ भागेर जान थालेछ ।
साथीले चामलले हिर्काउला र म फेरि मान्छे हुन सक्छु भनी तान्त्रिक नाग जति जति पछि पछि लाग्छ उति उति नै त्यो व्यापारी साथी झन् डराएर गएकाले तान्त्रिक नागको रूपमा बस्न बाध्य भएर त्यही सिद्ध पोखरीमा बसेछ भनिन्छ ।
आजसम्म पनि ठिमीका मानिस डरले त्यस सिद्ध पोखरीमा जाँदैनन् ।
यो सिद्धपोखरिमा नाग पञ्चमीका दिन ठुलो मेला लाग्दैआएको छ । त्यसरी नै टौदहमा पनि नाग पञ्चमीका दिन कर्कोटक नाग राजाको विशेष रूपमा पूजा गर्ने र मेला भर्ने परम्परा छ ।
महामञ्जुश्रीले उपत्यकाको पानी चोभारको हासिकापबाट बाहिर पठाउँदा कर्कोटक नागराज रिसाई बाहिर जान लाग्दा मञ्जुश्रीले नागराजलाई बिन्ती भाउ गरी मनाएर टौदहमा राखेको हो भनिन्छ ।
नागराज कर्कोटकका रानीको आँखा दुःखेको बेला बाटोमै भेटेका एक जना ज्यापुले रानीको आँखा दुख्ने रोग निको पारेकोले नाग राजा खुसी भई हिरा मोती नव रत्न जडित भोटो ज्यापूलाई उपहार दिए ।त्यो ज्यापूले खेतमा काम गर्दा भोटो फुकालेर खेतमै राखेको समयमा एउटा ख्याकले त्यो भोटो चोरेर लगेछ ।
एक दिन आफ्नो भोटो लगाएर रातो मच्छिन्द्रनाथको नागराज कर्कोटकका रानीको आँखा दुःखेको बेला बाटोमै भेटेका एक जना ज्यापुले रानीको आँखा दुख्ने रोग निको पारेकोले नाग राजा खुसी भई हिरा मोती नवरत्न जडित भोटो ज्यापूलाई उपहार दिए ।
त्यो ज्यापूले खेतमा काम गर्दा भोटो फुकालेर खेतमै राखेको समयमा एउटा ख्याकले त्यो भोटो चोरेर लगेछ । एक दिन आफ्नो भोटो लगाएर रातो मच्छिन्द्रनाथको जात्रा हेरिरहेका ख्याकलाई देखी त्यो ज्यापूले यो भोटो मेरो हो मलाई देऊ भनी झगडा गर्न थालेछ ।
रातो मच्छिन्द्रनाथले त्यो भोटो आफ्नो जिम्मामा लिई दुवैलाई प्रमाण लिएर आउन जसको भोटो हो उसैलाई दिइनेछ भनेछ । त्यही आख्यानअनुसार आजसम्म पनि हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्रा जावलाखेलमा पुग्दा यो कसको भोटो हो भनी देखाउने परम्परा रही आएको हो ।
यसैले हरेक वर्ष भोटो देखाउने जात्रा भनी रातो मच्छिन्द्रनाथले आफ्नो जिम्मामा रहेको भोटो देखाउँदै आइरहेको हो ।
यसरी उपत्यकामा नागका बारे विभिन्न आख्यान सुन्न पाइन्छ । त्यसै अनुरूप नेवारहरूको संस्कृति र परम्परा पनि चल्दै आएको देखिन्छ ।
नाग नागिनी मारेर चलाइएको भक्तपुरको बिस्केट जात्रा,छुमा गणेशको जात्रा, नागको आसन बनाई बसेका गुरु गोरखनाथलाई आसनबाट उठाएर वर्षा गराई सहकाल ल्याउन गुरु गोरखनाथका पनि गुरु रातो मच्छिन्द्रनाथलाई आसामको कामरूप कामाख्याबाट ल्याई जात्रा चलाउनु पनि नागसँग सम्बन्धित छ ।
भतिगा लाखे हरेक वर्ष नाग पञ्चमीका दिनदेखि कृष्ण अष्टमीसम्म काठमाडौँका विभिन्न टोलमा नचाइने भतिगा लाखे नाचले विशेष स्थान ओगटेको पाइन्छ ।
नेवारी समाजमा चल्दै आइरहेको जातीय जात्रामध्ये घःला पोडे समाजको नेतृत्वमा यो भतिजा लाखेनाच चल्दैआइरहेको छ । उपत्यकाका विभिन्न देवताका मन्दिरहरूमा अझ त्यसमा पनि अष्ट मातृका पीठमा पुजारी घःला नै भइरहेका छन् भने भतिगा लाखे नाच एउटा मात्र यो समाजको नेतृत्वमा चल्दै आएको छ । हुन त घःलालाई नै थकाली बनाई कीर्तिपुरको ऐतिहासिक सात गाउँले जात्रा गर्ने र भोज खाने चलन छ ।
त्यस्तै हाँडी गाउँको राँगाको बलि दिएर भोज खुवाउने परम्पराले गर्दा घःला समाजको सांस्कृतिक महत्त्व रहेको पाइन्छ । त्यसरी नै नुवाकोटको कागती गाउँमा हुने महालक्ष्मी जात्रामा पनि काठमाडौँको सबल बहालका घःला नगएसम्म र उसले बलि नदिएसम्म जात्रा नै सुरु नहुने परम्पराले पनि घःलाको सांस्कृतिक महत्त्व अझ बढी रहेको देखाउँछ ।
सबल बहालको भतिगा लाखे नाचले घःला समाजको पहिचानलाई झनै महत्त्वपूर्ण बनाई दिएको छ । किंवदन्तीअनुसार भतिगा लाखे कहीँबाट आएर सबल बहालकी एउटी महिलासँग प्रेम गरी विवाह गरेर त्यहीँ घरमा दोलाजी बसेको रहेछ । भतिगा रससँग गर्नुपर्ने, समाज सेवा पनि गर्ने रहेछ ।
उही भतिगाको जिउमा देवता प्रवेश गरेकाले मुकुन्डो लगाई दिएर भतिगा लाखे नाच नचाउन थालिएको रहेछ । भतिगा लाखे नाच कहिलेदेखि सुरु भएको हो भन्ने तथ्य यसै भन्न सकिन्न । तर, सम्बन्धित मानिसहरूको भनाई अनुसार ने. सं. १०९० देखि भतिगा लाखे नाच नचाउँदै आएको हो । भतिगा लाखे कहाँबाट आयो ? कुन घःला युवतीसँग विवाह गरेको हो कसैलाई थाहा छैन ।
एउटा भनाइअनुसार इन्द्रजात्राको बेलामा निकालिने मजिपा लाखे र भतिगा लाख कहिल्यै पनि आमने सामने पार्नु हुँदैन । केही भएर भतिगा लाखे नाच मतियारमा पुग्यो वा मजिपा लाखे सववहालमा पुग्यो भने रगत छादेर मर्न सक्छ भन्ने विश्वासले दुवैले एक अर्काको क्षेत्रमा कहिल्यै जाँदैनन् । सबल बहालको नाट्येश्वरलाई सुँगुर र राँगाको बलि दिएर सुरु गरिने भतिगा लाखे नाच टोलैपिच्छे लगिन्छ ।
जहाँ जहाँ बलि पूजा दिइन्छ त्यहीँ त्यहीँ लाखे नाच नचाइन्छ तर मजियातमा भने लाँदैन । रातो अनुहार, ठुलठुला डरलाग्दा आँखा भएको मुखबाट दाह्रा निस्किएको मुकुन्डो र रातो जामा लगाएको र छातीमा षट् कोण चिन्ह भएको लुगा लगाएको भतिगा लाखे नाच नचाउन सम्पूर्ण खर्च स्थानीय स्रोतबाट व्यहोर्दै आइरहेको छ ।
घःला समाजको पहिचान भएको ढोलक र सानो बाँसुरी एकोहोरो तालमा बजाई नाग पञ्चमीदेखि कृष्णाष्टमीसम्म भतिगा लाखे नाच नचाउने गरिन्छ ।