वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा ५ स्थित कालाबञ्जरमा रहेको जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको माईन्युट च्यातिएको घटना थप उग्र र रहस्यमय बन्दै गएको छ ।
विद्यालयमा भएको आर्थिक अनियमिततालाई लुकाउन विद्यालयका प्रधानाध्यापक योगराज पौडेलले शिक्षक चेतनाथ भट्टराईसँगको सहयोग र डिजाइनमा माईन्युट च्यातेको आरोप मलाई लगाएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कल पराजुलीले खुलासा गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक योगराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कल पराजुलीको राजिनामालाई प्रमुख मौखिक माग सहित माईन्युट विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले च्यातेको भन्दै नगरपालिका, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
विगतका बर्सहरूमा विद्यालयको व्यवस्थापन समितिको निर्णय बिना नै दीर्घकालीन महत्त्व र आर्थिक भार हुने किसिमका गतिविधिहरू विद्यालय प्रशासनबाट भएको र यस कार्य लुकाउन प्रधानाध्यापक योगराज पौडेलले माईन्युट च्यातेको घटना योजनाबद्ध रूपमा अगाडि सारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित बहुमत सदस्यहरूको भनाई रहेको छ ।
विद्यालय प्रशासनले आफू अनुकूलका शिक्षकहरूलाई तलब बाहेक अनियमित र अवैधानिक रूपमा सुविधाहरूको व्यवस्था, शैक्षिक सामाग्रीहरूको खरिदमा मनपरी, विद्यालयको व्यावसायिक सटरमा रहेका व्यवसायीहरुवाट सङ्कलन गरेको धरौटी रकम, विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन र अध्यक्षको हस्ताक्षर बिना नै विद्यालय प्रशासनले वार्षिक आर्थिक प्रतिवेदन नगरपालिकामा बुझाउने जस्ता घटनाहरूलाई लुकाउन माईन्युट च्यातेको झुटो आरोप  प्रधानाध्यापक पौडेलले लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले बताए ।
अध्यक्ष पराजुलीले असार २५ गते बसेको मिटिङको निर्णय माईन्युटलाई मैले च्यातेको भनी सुनियोजित ढङ्गमा आधारहीन बदनाम गराएको आरोप लगाएका छन् ।
उनले विद्यालयको प्रधानाध्यापक योगराज पौडेल, शिक्षक चेतनाथ भट्टराई लगायतको समूहले विद्यालयको आन्तरिक कुरालाई मिडियावाजी गरेको र सो  विषयलाई नगरपालिका र प्रहरीमा उजुरी गरेर आफ्नो सामाजिक बेइज्जत गरेको पराजुलीले  बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव समेत रहेका प्रधानाध्यापक योगराज पौडेलले आफूले गर्दै गरेको कुरालाई नियतवश राजनीतिक गरेर आफ्नो मानहानी गराएको बताए ।
विद्यालयमा अनियमितता भएको आभास हुने सटर भाडा बापतको धरौटीको रकम, शिक्षकको तलब भत्ता, आर्थिक वर्ष २०७९/८०को अडिट रिपोर्ट लगायत धेरै बेतिथिहरूको फेहरिस्त लामो रहेको पराजुलीले बताए।
यस्तै प्रशासनले आफू अनुकूल मात्र निर्णय गर्ने गरेको भन्दै  विद्यालयको कमीकमजोरी र गरिएको एकलौटी निर्णयका प्रमाणहरू  आफू सँग सुरक्षित समेत रहेको र आवश्यक समयमा देखाउन सक्ने  दाबी  पराजुलीले  गरे ।
विद्यालयको कुरालाई व्यक्तिगत बनाएर प्रशासनले 'तेरो छोरा समेत यही विद्यालयमा पढ्छ, त्यसको कसम खा, तामा तुलसी गर', जस्तो तल्लो स्तरमा झरेर हप्की दप्की गरिएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिको माईन्युट च्यातिएको घटनालाई अगाडि सारेर प्रधानाध्यापक योगराज पौडेलले व्यवस्थापन समितिका अध्यक्ष पराजुलीको राजिनामाको माग गरेका छन् । उनले अध्यक्ष पराजुलीले गुन्डागर्दी शैलीमा निर्णय च्यातेको आरोप लगाउँदै राजनिती गरेको आरोप लगाए ।
विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन बिचको विवादले अहिले वराहक्षेत्र नगरपालिकाको राजनिती तताएको छ । जसले गर्दा विद्यार्थीको पठनपाठनमा असर पर्ने देखिन्छ  ।
विद्यालयको सो विवादमा  अप्रत्यक्ष रूपमा नगरको दुई प्रमुख राजनीतिक दलको अस्वाभाविक चासो र दौडधुपले समस्या समाधान भन्दा विवाद जटिल हुने  देखिन्छ । यसले जडेजको भविष्य र समग्र वराहक्षेत्रको शिक्षा क्षेत्र माथि असर पर्ने देखिन्छ । शैक्षिक क्षेत्रलाई थप विवादित र घटना थप नबनाउन स्थानीयहरूले सामाजिक सञ्जाल मार्फत आग्रह गरीरहेका छन् ।