धरान : कोशी प्रदेशमा गाँजाको ओसार पसार सुनसरी, मोरङ, धनकुटा, उदयपुरमा उच्च रहेको आर्थिक वर्ष २०८१/०८२ मा पक्राउ गरिएको गाँजाको परिमाणले देखाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त एक वर्षको अवधिमा प्रहरीले ४ जिल्लाबाट कुल २६ हजार ७०५ किलोग्राम भन्दा बढी गाँजा बरामद गरेको छ । गाँजा नियन्त्रण अभियानमा १७ लाख ७२ हजार भन्दा बढी गाँजाका बोट नष्ट गरिएको छ ।
गाँजा ओसार पसार र बेचबिखनमा संलग्न १६५ जना पुरुष र २४ जना महिला पक्राउ गरिएको छ । ओसारपसारमा प्रयोग भएको ३१ वटा चारपांग्रे सवारी र ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
पक्राउ गरिएका गाँजाको परिमाण जिल्ला प्रहरी कार्यालय सुनसरीले १२ हजार ३७५ केजी ९२९ ग्राम, जिल्ला प्रहरी मोरङले ६ हजार ६५० केजी ४०० ग्राम, जिल्ला प्रहरी धनकुटाले ४ हजार १९४ केजी ३०० ग्राम, जिल्ला प्रहरी उदयपुरले १ हजार ८१० केजी ४८४ ग्राम, जिल्ला प्रहरी झापाले १ हजार ६५१ केजी २८२ ग्राम रहेको छ । विभिन्न प्रहरी कार्यालयको टोलीले कुल २६ हजार ७०५ किलो ५३८ ग्राम ९७ मिलिग्राम गाँजा बरामद गरेको हो ।
गाँजा खेती नष्ट गर्ने अभियानमा कोशी प्रदेशको कुल २ हजार ४ सय ६४ रोपनी क्षेत्रफलमा लगाएको १७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट तथा बेर्नाहरु नष्ट गरेको छ । उक्त बेर्ना तथा बोटहरू धनकुटाले १२ लाख ५९ हजार, भोजपुरले २८ लाख ४६ हजार, उदयपुरले १६ लाख ८ हजार ५ सय, सोलुले २९ हजार ७ सय, खोटाङले २६ हजार २ सय बोट तथा बेर्ना नष्ट गरेको बताइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशमा लागूऔषध गाँजाको प्रयोग, बेचबिखन, ओसार पसार नियन्त्रण, त्यसमा संलग्न व्यक्तिहरूलाई कडाइका साथ कानुनी दायरामा ल्याउन गरिएको एक्सनबाट नियन्त्रण उक्त परिणाम हासिल भएको हो ।
प्रहरीले चेकजाँचमा कडाइ गरेकै कारण बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाएको सवारी साधन, तरकारी बोक्ने गाडी, मोटरसाइकल लगायत साना ठुला सवारी साधनमा लुकाएर, कोशी नदीमा पानीमा बगाएर साथै जमिन मुनी गाडेर लुकाई गरिने गाँजाको कारोबार नियन्त्रण गर्न सफल भएको प्रदेश प्रहरीले जनाएको छ ।