धरान : बिमा बोर्डले धरानका स्वास्थ्य बिमामा सहभागीहरूका लागि बिपी प्रतिष्ठानलाई नै प्रथम सेवा विन्दु र रेफरल अस्पताल कायम गरी निर्णय नसच्याई रेफरल सेवा दिने अस्पताल मात्र कायम गरेमा धरानका ५ वटा राजनीतिक दलहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई कडा आन्दोलन गर्ने चेतावनी दिदैं ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बु, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवती रमण राईले संयुक्त हस्ताक्षर गरी आज शनिवारै मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन ।
पत्रमा भनिएको छ, धरान उपमहानगर भित्र कुनै पनि सरकारी स्वास्थ्य संस्था नरहेको नेपाल सरकार र स्वास्थ्य बिमा बोर्डलाई जानकारी गराउन चाहन्छौँ । धरानका जनताको सरकारी तथा गुणस्तरीय स्वास्थ्य संस्था भनकै बिपी प्रतिष्ठान मात्र हो ।
सरकारको पछिल्लो नीतिले धरानका जनता स्वास्थ्य बिमाको सेवा बिपीबाट लिनुको लागि पहिलो पल्ट इटहरी, इनरुवा वा वराहक्षेत्रको सरकारी अस्पताल जानु पर्ने अवस्था सिर्जना भएको छ । तसर्थ धरानका जनताको हितलाई मध्य नजर गर्दै बिपी प्रतिष्ठानलाई नै प्रथम सेवा केन्द्र र रिफरल सेवा केन्द्र कायम गर्न अनुरोध गर्दछौँ ।
पत्रमा सरकारको जहिले पनि जनतालाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्नु पर्न दायित्व हुने कुरा स्मरण गराउँदै स्वास्थ्य बिमा बोर्डको पत्र संविधानमा भएको मौलिक हक प्रतिकुल हुने गरी आएको बताइएको छ । भनिएको छ ‘यस विपरीत पुनः रिफरल सेवा मात्र प्रदान गर्ने निर्णय नसच्याएमा कडा आन्दोलन गर्न बाध्य हुनेछौँ भन्ने ब्यहोरा अवगत गराउन चाहन्छौँ ।’
यस्तो छ ध्यानाकर्षण पत्र 
bpkihs-bigyapti