धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको असार ३० गते हुने चुनावी सरगर्मी धरानको व्यापारिक क्षेत्रमा मात्र नभएर बौद्धिक राजनीतिक क्षेत्रमा पनि बढेको छ । धरानको विकासका सवालमा गम्भीर बहस र भूमिका अघि बढाउँदै आएकाले सङ्घको चुनाव सबैका लागि चासोको विषय बन्दै आएको हो ।
व्यक्तिगत सम्पर्क, उद्योगी व्यवसायी बिच सहज र सरल पहुँचको आधारमा चुनावी नतिजा आउने भएतापनि आम धरानवासीमा सङ्घको मुद्दाप्रति चासो रहने गरेको छ । यसपाली सङ्घको अध्यक्ष पदमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र अघिल्लो चुनावमा अध्यक्षमा पराजित शिवराज श्रेष्ठ चुनावी मैदानमा छन् ।
धरानको विकासको सवालमा दुवै प्रत्याशीले यसपाली राष्ट्रिय बजेटमा परेको धरान-लेउती सुरुङमार्ग निर्माणको पहललाई प्राथमिकता दिएका छन् ।
सुरुङ मार्ग नबने धरान बाइपास हुन्छ : गोपाल श्रेष्ठ
अध्यक्षका उम्मेदवार गोपाल श्रेष्ठले धरानलाई व्यापारिक केन्द्र मात्र नभई पर्यटन लगायत समग्र विकासको लागि धरान-लेउती सुरुङ मार्ग बन्न जरुरी भएको बताए । उनले मध्य पहाडी लोकमार्ग बनिसकेपछि पहाडी जिल्लाबाट काठमाडौँ लगायत भागमा पुग्न धरान आइरहनु नपर्ने अवस्था आउन सक्ने बताए ।
उनका अनुसार धरानलाई बाइपास हुनबाट बचाउन धरान-लेउती सुरुङ मार्ग निर्माण जरुरी छ । यो मागले धरानलाई जोगबनी-किमाथांका कोशी राजमार्गको व्यापारिक ड्राइपोर्ट धरानमा बन्न सक्ने सम्भावना बढ्छ । सुरुङ मार्गबाट धरानको खानेपानी सङ्कटको दीर्घकालीन समाधानका लागि तमोरको पानी ल्याउन उपयोग सहज हुनसक्ने भएकोले सङ्घले त्यसको पहल गर्ने उनको भनाई छ ।
सुनसरीकै धार्मिक क्षेत्रको पूर्वाधार सहित पर्यटकीय विकासका लागि बृहत्तर वराहक्षेत्र विकास कोष निर्माण गर्न सुनसरी उद्योग वाणिज्य सङ्घले पहल गर्ने बताए । सङ्घले निर्माण सुरु गरेको धरान-१२ चतरा लाइनको कोशेली घर र व्यापारिक प्रदर्शनीस्थल निर्माण आफ्नो कार्यकालमा सम्पन्न गर्ने उनको प्रतिबद्धता छ ।
किमाथांका राजमार्गको ड्राइपोर्ट धरानमा निर्माण गर्न पहल गर्ने, औद्योगिक ग्रामको स्थापना, उद्योग व्यवसाय प्रवर्द्धन, व्यावसायिक सुरक्षा, हटलाइन सेवा, राहत कोष स्थापना, प्रविधिमैत्री सचिवालय, वैज्ञानिक कर नीति, पर्यटनमा लगानी, समय सापेक्ष विधान संशोधन जस्ता विषयलाई आफ्नो कार्यकालमा प्राथमिकता दिएर काम गर्ने योजना उनले अगाडी सारेका छन् ।
सुरुङ मार्गले धरान सडक सञ्जालमा जोडिन्छ : शिवराज श्रेष्ठ
अध्यक्ष पदका अर्का उम्मेदवार शिवराजले सुस्ताएको धरान बजारको व्यापार व्यवसायलाई सुरुङ मार्ग मार्फत सडक सञ्जाल जोड्दै धरानको व्यापारिक बजार चहलपहल बढाउने भूमिकामा सुनसरी उद्योग वाणिज्य सङ्घलाई अघि ल्याउने कार्य योजना रहेको बताए ।
उनले भने ‘कोशी प्रदेशमा एउटा मात्र ड्राइपोर्ट छ, किमाथांका राजमार्गको ड्राइपोर्ट धरानमा बनाउन पहल गरिनेछ ।’ पर्यटन प्रवर्द्धन गर्न हेलिप्याड निर्माण, धरानको धार्मिक पर्यटन र हेल्थ टुरिजम बढाउने आफ्नो एजेन्डा रहेको उनले बताए । उद्योगी व्यवसायीलाई कर सहयोग सेवा, लेखा परीक्षण सेवा, कानुनी परामर्श, बस्तुगत सङ्घहरूको विकास, सूचना सेवा प्राथमिकतामा रहेको बताए ।
चुनाव जित्ने आधारहरू :
अध्यक्षका उम्मेदवार गोपाल श्रेष्ठको आफूले चुनाव जित्ने आधारहरू ८ जना पूर्व अध्यक्षको समर्थन र सद्भाव रहेको दाबी गरे । पूर्व अध्यक्ष देखी निवर्तमान सदस्यहरूको सल्लाह समर्थनमै आफ्नो उम्मेदवारी भएको बताउँदै श्रेष्ठले धरानका सबै उद्योगी व्यवसायी र बुद्धिजीवीहरूको साथ समर्थन रहेको व्यापारीकै हकहितमा सदैव लागि परेकोले चुनाव जित्ने पूर्ण विश्वास रहेको बताए ।
बोली भन्दा नतिजामा आफूलाई विश्वास रहेको उनको भनाई छ । मतदाताले आँफुलाई नेतृत्वमा पुर्याउने कुरामा विश्वस्त रहेको बताउँदै भने ‘सबै व्यवसायीले मलाई साझा उम्मेदवारका रूपमा उठाएकाले पनि मेरो जित सहज छ ।’अध्यक्षका अर्का उम्मेदवार शिवराज श्रेष्ठले सुनसरी उद्योग वाणिज्य सङ्घका सिण्डिकेट यसपाली तोडिने र त्यसैका लागि उम्मेदवार भएको बताए । उनले भने ‘यसपाली सिन्डीकेट सिस्टम तोड्दै छु ।’ सिन्डीकेट प्रथा हटाउनु पर्दछ भन्नेमा सम्पूर्ण व्यापारीको एकमत रहेकाले सहजै चुनाव जित्ने उनको दाबी छ ।
राजनीतिक दलहरू तटस्थ
सङ्घको चुनावमा विशेष गरी नेपाली काँग्रेस र एमाले सक्रिय भएको देखिने गरिएकोमा यसपाली दलहरू तटस्थ रहेका बताइएको छ । अध्यक्षका दुवै उम्मेदवार काँग्रेस निकट नभएकाले चुनावमा काँग्रेसले प्रत्यक्ष चासो राखेको छैन ।
गोपाल श्रेष्ठ आफ्नो प्यानल सहित चुनावी प्रचारमा उत्रिएका छन् । दुवै उम्मेदवार एमाले निकट भए पनि गोपाल श्रेष्ठले प्यानल सार्वजनिक गरेर साझा उम्मेदवार भएको दाबी गरिरहेका छन् । अर्का उम्मेदवार शिवराज श्रेष्ठले प्यानल सार्वजनिक गरेका छैनन् ।
यस्तो छ गोपाल श्रेष्ठको प्यानल
अध्यक्ष गोपाल श्रेष्ठको प्यानलमा उद्योग तर्फको सदस्यहरूमा महेन्द्र प्रधान, प्रभाव खतिवडा, विष्णु बराल, कृष्ण प्रसाद पाठक छन् । वाणिज्य तर्फका सदस्यहरूमा राम स्वरूप शर्मा, किसन मास्के, शैलेस आर्चाय (प्रमोद), विवेक अग्रवाल, शशी साह, नवीन राजभण्डारी, जय प्रकाश शर्मा, अमित अग्रहरी, वर्षा अग्रवाल श्रेष्ठ (महिला) छन् ।
एशोसिएट्स तर्फ सदस्यहरू अशोक जैन, ललित कुमार अग्रवाल, मनिष अग्रवाल छन् । बस्तुगत तर्फ नवीन कुमार तामाङ, नारायण लिम्बु रहेका छन् ।
गोपाल श्रेष्ठ प्यानलकी मीना राई निर्विरोध
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा.राजेन्द्र शर्माका अनुसार उद्योग तर्फ महिला सदस्यको पदको लागि भने मीना राई निर्विरोध भएकी छिन । उनी गोपाल श्रेष्ठ प्यानलकी हुन ।
निर्वाचनमा मतदाताको सङ्ख्या २ हजार ९०४ जना छन् । उम्मेदवारी दिनेहरूमा वाणिज्य तर्फ १५ जना, उद्योग तर्फ ७ जना, एसोसिएट तर्फको सदस्यका ५ जना, वस्तुगत तर्फ ३ जना, वाणिज्य तर्फ महिला सदस्यको लागि २ जनाले उम्मेदवारी सहित कुल ३५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत डा. शर्माले बताए ।


































































