धरान : बुढासुब्बा गोल्डकप फुटबलका आयोजक धरान फुटबल क्लबले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाका लागि लिने गरेको पार्किङ शुल्कको बारेमा सामाजिक सञ्जालमा प्रश्न उठाइएकोले आजदेखि पार्किङ निःशुल्क गरिएको जनाएको छ ।
तर, दर्शकको सवारी साधनहरू हरायो, टुटफुट भएको अवस्थामा त्यसको जिम्मेवारी भने धरान फुटबल क्लब नहुने जानकारी पनि गराएको छ ।
दर्शकहरूले आफ्नो सवारी साधन रङ्गशाला बाहिर पार्किङ गरेर ढुक्कसँग खेल हेर्न पार्किङ शुल्क तिरेपछि सवारी साधनको सुरक्षाको जिम्मेवारी पार्किङको जिम्मा लिने नै हुने गरी क्लबले यसपालि धरान-१९ युवा जागृति फुटबल क्लबलाई दिएको थियो ।
तथापि सुरक्षा वापत लिने गरेको पार्किङ शुल्कको विषयलाई लिएर सामाजिक सञ्चारमा प्रश्न उठेकोमा ध्यानाकर्षण भई आज बिहान बसेको धरान फुटबल क्लबको बैठकले आजै देखी लागु हुने गरी सवारी पार्किङ निःशुल्क हुने निर्णय गरेको जानकारी विज्ञप्ति मार्फत गराइएको हो ।
विज्ञप्तिमा भनिएको छ ‘क्लबले पार्किङबाट कुनै पनि रकम लिएका छैनौँ र हाल सम्म लिने पनि गरेका छैनौँ ।’ विगत लामो समय देखी नै खेलकुद सम्बन्धी संस्था वा सामाजिक संस्थाहरूलाई नै सहयोग पुगोस् भनेर क्लबले पार्किङको जिम्मेवारी खेलकुद सम्बन्धी संस्थाहरूलाई दिँदै आएको विज्ञप्तिमा स्पष्ट गरेको छ ।
विज्ञप्तिको अन्तमा ‘बुढासुब्बा गोल्डकप धरानको ‘पहिचान’ हो भन्न कुरा व्यापक रूपमा सुन्ने गरिएको छ । यसर्थ यस ‘पहिचान’लाई जोगाउने हो भने इमानदारिता पूर्वक सबैले सहयोग गर्नु पर्छ भन्ने हाम्रो बुझाई हो, अन्यथा गोल्डकपको निरन्तरताको बारेमा हामीले द्विविधा महसुस गर्न थालेका छौँ’ भनिएको छ ।



































































