धरान : पछिल्लो समय देशव्यापी रूपमा धरानका पत्रकारलाई समाचार लेखेकै आधारमा स्थानीय सरकार प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत धम्की दिँदै आएको कुरालाई धरानकार ७ राजनीतिक दलहरू निन्दा र भर्त्सना गरेको छ ।

दलहरूले बुधवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘राज्यको चौथो अङ्गका रूपमा रहेका मूलधारका सञ्चारकर्मीलाई तल्लो स्तरको धम्की दिन लगाउने जस्ता अमानवीय, घृणित र लोकतन्त्र र संविधान विपरीत गरिएका यस्ता घट्नाको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ ।’

नगर प्रमुख साम्पाङ सम्बन्धी खोज पत्रकारिता केन्द्रको पत्रकार गोपाल दाहालको अनुसन्धान मूलक समाचार ‘हिमाल खबर’मा प्रकाशित भएपछि उनको पेसा समाप्त गरिदिने, नेपालमा बस्न नसक्ने बनाउने जस्ता धम्की गाली गलौचको भाषामा प्रमुख साम्पाङले सामाजिक सञ्जाल मार्फत दिदैं आएका छन् ।

दाहाल सहित पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई समेत धम्की र गाली गलौचको तारोमा परेका छन् । राईकै निर्देशका उक्त समाचार लेखिएको हो भन्ने नगर प्रमुख साम्पाङको आशय छ ।

प्रेस स्वतन्त्रता माथि धावा बोल्ने प्रमुख साम्पाङको भाषाका कारण उक्त विषय देशव्यापी रूपमा चर्चाको विषय बनेको छ । पत्रकारप्रति घृणा, द्वेष फैलने फेसबुक स्टाटसहरुका कारण फलोअर्सहरुले सामाजिक सञ्जालमा पत्रकारहरूलाई ज्यानको धम्की दिने कार्य पनि बढेको छ ।

राजनीतिक दलहरूले संयुक्त वक्तव्यमा भनेका छन् ‘संविधानले नै प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता हरेका नागरिकलाई प्रदान गरेको छ । नागरिकको सूचना पाउने हकलाई कार्यान्वयन गर्दै लेखिएको समाचारकै आधारमा झोले पत्रकारको संज्ञा दिनु संविधान माथि नै ठाडो चुनौती हो ।’

संयुक्त वक्तव्यमा नेकपा एमालेका अध्यक्ष हर्कराज एभेङ, नेपाली काँग्रेसका सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष मनोज भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राई, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष अर्जुन खड्का र सालेराम सङ्घीय लिम्बुवान मञ्चका अध्यक्ष मोहन तिगेलाले हस्ताक्षर गरेका छन् ।

Party PR patrakar (2)Party PR patrakar (1)