वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्रसिद्ध तीर्थ धाम वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात् हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यसवर्ष कात्तिक २७ गते मङ्गलवार एकादशीको दिनबाट सुरु भई ३० गते शुक्रवार पूर्णिमाको दिनसम्म ४ दिन आयोजना हुने वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।
मेलाका लागि बजार व्यवस्थापन, सरसफाइ, कोसी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानी लगायत कामहरू भइराखेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिमा सचिव सन्तोष भण्डारीले बताए ।
भक्तहरूका लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, उज्यालोका लागि विधुतको व्यवस्थापन गरिएको छ । मेलाका लागि बगर सम्याउने, सुरक्षाको व्यवस्थापन, नियमित सरसफाइ समेत गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । मेलालाई व्यवस्थित र आकर्षित गर्न नगरपालिकाले काम गरिराखेको नगर प्रमुख कार्कीले बताए ।
भारतका रुरुक्षेत्र र कुरुक्षेत्र तथा नेपालका मुक्ति क्षेत्र र वराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तीर्थयात्री आउने गरेका छन् ।
यस वर्ष मेला भर्न भारत लगायतका देशहरूबाट चारदेखि पाँच लाख तिर्थालु आउने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेले बताए ।