धरान : नेपाल क्रिकेट सङ्घले आज सोमवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको अमेरिकी भिसा प्राप्त नभए तापनि आइसिसी सँग समन्वय गरी वेष्ट इण्डिजमा हुने दक्षिण अफ्रिका तथा बङ्गलादेश विरुद्ध २ खेलमा सहभागी हुने जनाएको छ ।

क्यानका पदाधिकारीका अनुसार सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। उनी वेस्ट इन्डिज पुगेपछि मात्र क्यानले आधिकारिक विज्ञप्ति जारी गरेको छ ।

सन्दीप जारी ‘आइसिसी पुरुष टी-२० विश्वकप २०२४’ मा नेपाली टिमबाट सहभागी हुने भएका हुन । क्यानको वक्तव्यमा भनिएको छ ‘उच्च अदालत पाटनले गत मई १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट सङ्घले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्रभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकपमा खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेस गरेको थियो ।’

सन्दीप लामिछानेको अमेरिकी भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्य, टिप्पणी सत्य नरहेको जानकारी गराउँदै क्यानले वक्तव्यमा ‘यस्ता अनावश्यक, आधारहिन वक्तव्यबाजीतर्फ नलागी नेपाली क्रिकेटका शुभचिन्तक सबैले नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न आफ्नो क्षमताले भ्याए सम्म स-सान भएपनि सकारात्मक टिप्पणी सहित प्रयास र पहल गरिदिनुहुन’ आग्रह गरेको छ ।

क्यानका सचिव पारस खड्काद्वारा जरी विज्ञप्तिमा १० वर्ष पछि नेपालले सहभागिता जनाइरहेको ‘आइसिसी पुरुष टी-२० विश्वकप २०२४’ महाउत्सवमा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरूलाई एक ढिक्का भई नेपाली क्रिकेट टोलीको हौसला बढाइदिन आग्रह गरिएको छ ।

CAN-Pressrelease